काठमाडौं । विजया दशमीअर्न्तगत आज महानवमीका दिन वर्षको एक दिन मात्र खुल्ने काठमाडौंको हनुमानढोका स्थित तलेजु मन्दिरमा मेला लागेको छ ।
प्रत्येक वर्ष नौरथाको महानवमीका दिन तलेजु मन्दिरमा सर्वसाधारणका लागि खुला गरिने चलन छ । नेवार समुदायको इष्टदेवीका रुपमा पुजिने तलेजु भवानीको दर्शन र पूजाका लागि बिहानैदेखि घुइँचो लागेको छ । तलेजुको दर्शन र पूजाका बिहान ६ बजेबाट सर्वसाधारणका लागि मूलढोका खोजिएको हो ।
वर्षको एकदिन महानवमीका दिन मात्र खुल्ने भएकाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट भक्तजनहरू आउने गर्दछन् । काठमाडौंका विभिन्न टोलहरूबाट परम्परागत बाजागाजा सहित तलेजु भवानीप्रति भक्तिभाव चढाउने गर्छन् ।
साक्षात् देवी तलेजुको दर्शन र पूजा गर्नले सुख समृद्ध हुने धार्मिक विश्वास रहेकै कारण आजका दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्छ ।
सत्रौँ शताब्दीमा सिम्रौनगढबाट तलेजु भवानीलाई नेपालमा ल्याइएको जनविश्वास छ । साथै आजको दिन वसन्तपुरस्थित कुमारी घरमा जीवित देवी कुमारीको दर्शन र पूजाका लागि पनि घुइँचो लागेको छ । साँझ जीवित देवी कुमारीलाई तलेजुको दर्शन गराइने समेत प्रचलन रहेको छ ।