पहिलो टेस्टमा इंग्ल्यान्डविरुद्ध पाकिस्तानको इनिङ्स सहित लज्जास्पद हार

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिलो टेस्टमा इंग्ल्यान्डविरुद्ध पाकिस्तानको इनिङ्स सहित लज्जास्पद हार

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा लज्जास्पद हार बेहोरेको छ । पाकिस्तान इंग्ल्यान्डसँग एक इनिङ्स र ४७ रनले पराजित भएको हो ।

पहिलो इनिङ्समा ५ सय ५६ रन बनाएर पनि पाकिस्तानी टोली पराजित हुन पुग्यो । पाकिस्तानले पहिलो इनिङ्समा ५ सय प्लस रन बनाएर टेस्ट इनिङ्ससहित हार्ने पहिलो टिमको रुपमा खराब कीर्तिमान बनायो । यस जितसँगै भ्रमण टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ ।

मुलतानमा पाकिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । घरेलु टोलीले पहिलो इनिङ्समा ५ सय ५६ रनको बलियो स्कोर बनाएको थियो । अब्दुल्लाह शफिकले १ सय २, कप्तान शान मसूदले १ सय ५१ र सलमान आगाले १ सय ४ रनको शतकीय पारी खेलेका थिए । इंग्ल्यान्डका ज्याक लिचले ३ विकेट लिएका थिए ।

इंग्ल्यान्डले ८ सय २३ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा पहिलो इनिङ्स घोषणा गर्यो । इंग्ल्यान्डका लागि जो रुटले २ सय ६२ र ह्यारी ब्रुकले ३ सय १७ रन बनाए । यो जोडीले संयुक्तरुपमा ४ सय ४५ रन बनाउँदै इंग्ल्यान्डाका लागि कुनै पनि विकेटको रुपमा उच्च साझेदारी गरे । रुट इंग्लयान्डका लागी टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

२ सय ६७ रनले पछि परेको अवस्थाबाट पाकिस्तानले दोस्रो इनिङ्स सुरुवात गर्दा टेस्ट बराबरी उन्मुख थियो । तर चौथो दिनको समाप्तिमा पाकिस्तानले ६ विकेट गुमाएर १ सय ५२ रन बनाएपछि घरेलु टोली दबाबमा आएको थियो । अन्तिम दिनको सुरुवातमै २९ रन जोड्दा बाँकी ३ विकेट गुमाएपछि पाकिस्तान २ सय २० रनमा अल आउट भयो । पाकिस्तानका अब्रार अहमद चोटका कारण ब्याटिङमा आउन सकेनन् ।

इंग्ल्यान्डविरुद्ध इनिङ्ससहित लज्जास्पद हार बेहोरेको पाकिस्तानले पछिल्ला ४४ महिना यता कुनै टेस्ट जित्न सकेको छैन । दुई देशबीचको दोस्रो खेल आगामी मंगलबारदेखि यही मैदानमा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement