महाअष्टमी र महानवमी आज एकै दिन : महागौरीको पूजा गरियो, नवदुर्गाको पूजा पनि आजै

वर्षमा एकदिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको घुइँचो
आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
महाअष्टमी र महानवमी आज एकै दिन : महागौरीको पूजा गरियो, नवदुर्गाको पूजा पनि आजै

काठमाडौं । बडादशैंको आज नवौंदिन । तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी एकै दिन परेको छ । 

ज्योतिष दिवाकर पन्तकाअनुसार शुक्रबार बिहान ६ बजेर ५० मिनेटसम्म अष्टमी तिथि परेको थियो भने ६ बजेर ५१ मिनेटबाट महानवमी सुरु भएको हो । उहाँका अनुसार महानवमी तिथि शनिबार बिहान ५ बजेर ४६ मिनेटसम्म छ भने ५ बजेर ४७ मिनेटबाट विजया दशमी सुरु हुनेछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाइन्छ । 

दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्‌देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशु बली  नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ । 

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भिड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन रहेको छ ।

हनुमान ढोका दरबार क्षेत्रमा वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ । 

यसअघि आज बिहान महाअष्टमीको तिथि भित्रै महागौरी देवीको पूजा आराधना गरिएको थियो । नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको हो ।  नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । 

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।

यो पनि पढ्नुहोस् :-

आश्विन शुक्ल अष्टमी : आज महागौरी देवीको पूजा आराधना गरियो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement