दशैँमा गाउँघरै रमाइलो

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैँमा गाउँघरै रमाइलो

दशैँ मान्न घर फर्किएकाहरूको चहलपहलले गाउँघरमा रमाइलो छ । पेशा-व्यवसाय, रोजगारी र अध्ययनका लागि देशविदेशमा छरिएकाहरू आफ्नो थातथलो फर्किएका छन् । दशैंको मुखैमा आएको विपद्ले अस्तव्यस्त राजमार्गको कष्टकर र जोखिपूर्ण यात्रा गरी आफ्ना शाखासन्तान गाउँ फर्किएकाले घर कुरेर बस्ने बाआमा पनि रमाएका छन् । कष्टपूर्ण सडक यात्राको पीडा भुलेर अहिले कोही बाआमालाई धान भित्र्याउन सघाइरहेका छन् त कोही टोल, समुदाय मिलेर संस्कृति जोगाउन नाचगानसहित रमाइलो गर्ने, परम्परागत पिङ्ग बनाउने र बाट्ने गर्दै खुसीयाली साटासाट गरिरहेका छन् । 

गत असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षासँगै आएको बाढी पहिरोले रामेछापबाट काठमाडौँ आउजाउ गर्ने बीपी राजमार्ग क्षतिवच्छेत भयो । बीपी राजमार्गको अवरुद्धले रामेछाप मूल थलो हुनेहरूलाई दशैँमा गाउँघर जान छेक्नसकेको छैन । सिन्धुपाल्चोकको खाडिचौर हुँदै दोलखाको चिरिकोट निस्केर मानिसहरू रामेछाप झरिरहेका छन् । सदरमुकामा मन्थली जोडने मुख्य सडकसहित अन्य ग्रामीण सडक पनि अस्तव्यस्त नै छन् । तर दशैँ मनाउन घर आउनेहरूले आफन्तसँग रमाइलो भेटघाट गरी यात्राको कष्ट बिर्सिएका छन् ।

पाँचथर उक्लिने बाटो पनि सहज छैन । इलामको राजदुवाली खण्डमा बाटो बल्लतल्ल बनेको छ । माथि ताप्लेजुङ उक्लिन हेवा खोलाको पुल बाढीले बगाइदिएपछि भर्खरै डाइभर्नबाट सवारीसाधन आउजाउ गर्न थालेका छन् । तर पनि प्रतिकूलतालाई चिर्दै कोही फड्के तरेर त कोही पैदलै आफ्नो गाउँ बल्लतल्ल पुग्दैछन् । यसरी गाउँ पुगेकाहरूले समुदायमा नाचगानसहित रमाइलो गर्ने, पिङ्ग हाल्नै गर्दै खुसीयाली साटिरहेका छन् ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका १ खाम्लुङबाट फुङलिङ नगरपालिका ७ मा बसाइँ आएकी लाक्पाडोमा शेर्पा दशैँ मनाउन आउने छोराछोरीलाई नयाँ घरमा स्वागत गर्न त्यसलाई सजाउने र बिजुली जोड्ने काममा दत्तचित्त हुनुहुन्छ ।

फुङ्लिङकै चङखबहादुर विक पनि छ वर्षअघि मलेसिया पसेको छोरा दशैं मनाउन फर्किएकाले फुरङ्ग हुनुहुन्छ ।

यो पाल्पाको दृष्य हो । देशविदेशबाट फर्किएका पाल्पालीहरू इष्टमित्र, साथीभाइसँगको भेटघाट सँगै मौलिक नाचगानमा रमाइरहेका छन् । उनीहरूले ल्याएका सवारीसाधनले बाटाघाटा भरिभराउ छन् । घर लिपपोत गर्न बाँकी त्यसको चटारोमा छन् अनि फुर्सिदिलाहरू मीठा खानेकुरा पकाउँदे खाँदै चर्खे र लिङ्गे पिङमा रमाइरहेका छन् ।

दाङ बसपार्क देखिएको भिडमा धेरै त छिमेकी भारतदेखि तेस्रो मुलुकबाट दशैँ मनाउन आइपुगेकाहरू छन् । रोल्पा रुकुम प्युठान सल्यान उक्लिन उनीहरूलाई हतारो छ, परिवार भेट्न अधीर छन् ।

अर्घाखाँचीमा दशैँको स्वागतमा घरलिपपोत गरेर चिटिक्क पारिएको छ । पिङ हाल्ने चटारो छ । दशैँमा एकपटक भूँइ छाड्नुपर्छ भन्ने मान्यताका कारण सबै जना पिङमा रमाउँछन् ।

अरूबेला बूढाबुढी मात्रै देखिने दैलेखका घरआँगनमा दशैँ मनाउन फर्किएका छोराछोरीले खुशी ल्याएका छन् । गाउँमा देउडा खेल चलिरहेको छ, मान्यजनको आर्शीवाद लिन अनि सुखदुख साट्न पुर्खेयौली थलो फर्किएकाहरू संरक्षण अभावले जीर्ण घर सरसफाइ गर्दैछन् ।

चाडबाडको रमाइलो आफ्नै थातथलोमा हुन्छ । अघिपछि कर्मभूमिमा रमाइरहेकाहरू पनि यो बेला जन्मथलो पुग्छन् ।

हेर्नुहोस जिल्ला सहकर्मीहरूको सहयोगमा तयारी पारिएको यो रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.