काठमाडौं । एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा धमाधम भर्ना चलिरहँदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्– सीटीईभीटीअन्तर्गत स्वास्थ्य शिक्षातर्फको भर्ना प्रक्रिया भने अन्योलमा परेको छ । चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूको सिट निर्धारणमा ढिलाइ गर्दा स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहने हजारौं विद्यार्थी अन्योलमा परेका हुन् । शिक्षण संस्था सञ्चालक र विद्यार्थीले तत्काल भर्ना प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
सीटीईभीटीले एसईईको ग्रेडका आधारमा प्रवेश परीक्षाबिनै डिप्लोमा तहमा शिक्षण संस्था आफैंले विद्यार्थी भर्ना गर्न सक्ने निर्देशिका जारी गरेपछि चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच विवाद उत्पन्न भएको छ । सोही विवादका कारण स्वास्थ्य शिक्षातर्फ नर्सिङ, एचए, फार्मेसीलगायतका विषयको सिट निर्धारण र भर्नामा ढिलाइ भएको छ ।
त्यसो त कानुनसम्मत रूपमा स्वास्थ्य शिक्षाको भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने चिकित्सा शिक्षा आयोगको भनाइ छ । प्रक्रियाअनुसार प्रमाणपत्र तहका स्वास्थ्य शिक्षा कार्यक्रमको प्रवेश परीक्षा आयोगको समन्वयमा सीटीईभीटीले गर्ने व्यवस्था छ । यसका साथै प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणालीका आधारमा भर्ना गर्नुपर्ने र निश्चित सिट संख्या निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
तर दुई संस्थाको किचलोले अघिल्ला वर्ष झैं यो वर्ष पनि सीटीईभीटी अन्तगर्तका आंगिक र साझेदारी गरी १ सय १२ संस्था, निजी ४ सय २२ र सामुदायिक ६ सय ३६ वटा विद्यालयमा डिप्लोमा तहमा अध्ययन गर्न चाहने विद्यार्थी अन्योलमा परेका छन् । शिक्षण संस्थाहरूले हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको स्वास्थ्य शिक्षाको भर्ना तत्काल अगाडि बढाउन माग गरेका छन् ।
भर्ना प्रक्रिया सुरु हुन नसक्दा अभिभावकहरू पनि अन्योलमा छन् । विज्ञहरुले पनि विद्यार्थीलाई अन्योलमा पारेर उनीहरुको भविष्य बिगार्न नहुने बताएका छन् ।
पछिल्लो समय स्वास्थ्य शिक्षाअन्तर्गत नर्सिङ, एचए र फार्मेसीबाहेकका विषयमा विद्यार्थीको आकर्षण घट्दै गएको छ । इन्जिनियरिङ, कृषि, पशु विज्ञान जस्ता विषयहरूमा त विद्यार्थी नपाउने स्थिति छ । यस्तो अवस्थामा आकर्षण बढाउनु साटो विद्यार्थीलाई संस्थागत किचलोको भुमरीमा पार्नुले विद्यार्थीको भविष्यमाथि नै खेलबाड भएको छ ।