काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरु आ-आफ्नो गाउँघरतर्फ फर्कने क्रम जारी छ । आज बिहानसम्म करिब ८ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी महासंघले जनाएको छ ।
आजदेखि सरकारी बिदा सुरु भएकाले गृहजिल्ला प्रस्थान गर्नेहरुको भीड अरु दिनभन्दा आज बढेको हो । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, बल्खु लगायतका स्थानमा काठमाडौंबाट बाहिरिनेहरु बिहानैदेखि हतारिइरहेका देखिन्थे । दुई साताअघिको वर्षापछि बाढी-पहिरोले बिग्रिएका बाटोहरु मर्मत-सम्भार गरी आवतजावत गर्न योग्य बनाइएपछि दशैंमा घर फर्किनेहरुको संख्यामा पनि वृद्धि भएको हो । यद्यपि दशैंमा सवारी साधन पाउने भए पनि भाडा महँगो र टिकट लिन समस्या परेको यात्रुको अनुभव छ ।
काठमाडौं बाहिरिने यात्रुको संख्या उल्लेख्य भएकाले प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुन्डिन र सिट क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराएको छ ।