यसरी निर्माण हुँदैछ बीपी राजमार्ग [ फोटोफिचर ]

आश्विन १७, २०८१ |राजकुमार कार्की
यसरी निर्माण हुँदैछ बीपी राजमार्ग [ फोटोफिचर ]

सिन्धुली । बीपी राजमार्गको नेपालथोक–धुलीखेल खण्ड कतिखेर खुल्छ भनेर सबैको चासो छ । चार्डपर्व सुरु भएसँगै पूर्वी नेपाललाई उपत्यकासँग जोड्ने छोटो दुरीको बीपी राजमार्ग यतिखेर क्षतिग्रस्त छ । 

रोशी खोला र सुनकोसीमा आएको बाढीपहिरोले क्षति भएको खुर्कोट–नेपालथोक–धुलीखेल सडक खण्डको ८४ किलोमिटरमध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ ।

पहिरो गएको दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोसीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ । नेपालथोकबाट अगाडि आँपघारीमा करिब तीनसय मिटर सडकलाई खोलामै झारेर अस्थायी निर्माण गर्ने कामले तीव्रता पाएको छ । आज बिहीबार मध्यान्हसम्ममा खुल्ने गरी काम भइरहेको छ ।

आँपघारी अगाडी देवीस्थानमा दुई सय मिटर बगाएको सडकलाई पनि रोशीलाई तर्काएर सडक खुलाउन लागेको सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिनुभयो । साता अघिदेखि सिन्धुलीतर्फ सडक बगाएर फसेका २१ वटा सवारी साधनहरुलाई सदरमुकाम सिन्धुलीमाडी तर्फ नै लगेर गन्तव्यमा पठाइने प्रहरीले जनाएको छ । 

सडक डिभिजन कार्यालय खाल्टे र सुनकोसी गाउँपालिकाको स्काभेटर, जेसीभी, डोजर गरी यस क्षेत्रमा पाँच वटाले काम गरिरहेका छन् । मेसिनका लागि चाहिने इन्धन, अप्रेटरको खाजा/खाना र प्राविधिकहरुको भने अभाव रहेको स्थानीय बिनोद कोइरालाले बताउनुभयो । 

संघीय सरकारको उपस्थिती नभएकाले काम गर्न समस्या भएको उहाँको भनाइ छ । काठमाडौंमा बसेर अन्तर्वार्तामा रमाउने सडकका प्राविधिकहरु फिल्डमा आएर खट्ने हो भने चारपाँच दिनमा अस्थायी सडक निर्माण हुनसक्ने उहाँको आँकलन छ । 

यो ट्र्याक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सुचारु हुने र उताबाट भकुण्डबेँसीहुँदै रोशी खोलासम्म सडक निर्माण भएको छ । बीचमा १० किलोमिटर क्षेत्रमा पनि सबै सडक बगाएको छैन् ।

त्यहाँ बगाएको करिब डेढ किलोमिटर सडक अस्थायी रुपमा सञ्चलनमा ल्याउन सेनालाई समेत परिचालन गरी स्थानीयलाई श्रमदानमा लगाउन सके अझ छिटो काम हुने सडक निर्माणमा जुटेका स्थानीय कौशल कोइरालाले बताउनुभयो । बगाएको सडकमा नयाँ ट्र्याक खोल्नुपर्ने हुन्छ । यो खण्ड ५० किलोमिटर छ । बीपी राजमार्गको धुलीखेल, सिन्धुली बर्दिवास सडकको तीनखण्ड सञ्चालनमा रहेको समेत उहाँको भनाइ छ ।

नेपालथोक देवथान बाहेक यो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षती गरेको छ । नेपालथोक–धुलीखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ ।

यहाँ पनि काम सुरु भइसकेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षति भएको छ । थली बेँसीमा पनि रोशी खोलाले २ सय मिटर र नार्के पुल नजिक २ सय मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।  


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement