काठमाडौंबाट दिल्लीको भन्दा धनगढीको हवाई भाडा झन्डै ३ हजार बढी

हवाई भाडामा एयरलाइन्स कम्पनीको मनोमानीमा नियामक रमिते
काठमाडौं-धनगढीको एकतर्फी भाडा नै १७ हजार
चर्को विरोधपछि जम्मा ३ दिनका लागि न्यूनतम दर कायम
आश्विन १३, २०८१ |प्रकाश बम
काठमाडौंबाट दिल्लीको भन्दा धनगढीको हवाई भाडा झन्डै ३ हजार बढी

काठमाडौं । लगातारको वर्षापछि राजधानीलाई जोड्ने राजमार्गहरूमा पहिरो जाँदा सडक यातायात पूर्णरुपमा अवरुद्ध छ । दसैँ तथा अत्यावश्यक कामका लागि काठमाडौंबाहिर आवतजावत गर्न यतिखेर मानिसहरूलाई हवाई यात्रा एक मात्र विकल्प छ । यस्तो विपत्तिमा नागरिकलाई साथ र सहयोग दिनुपर्नेमा एयरलाइन्स कम्पनीहरूले टिकटमा दोब्बर मूल्य बढाए । एयरलाइन्स कम्पनीहरूले भाडामा मनपरी गर्दा नियामकहरू भने रमिते बनिरहेका थिए ।

नेपाल एयरलाइन्सले काठमाडौं-दिल्लीको एकतर्फी भाडा १४ हजार ७ सय २१ तोकेको छ । यस हिसाबले नेपालको धनगढीको हवाई भाडा पक्कै पनि कम छ भन्ने तपाईंलाई लाग्ला । तर तपाईंलाई यस्तो लाग्नु नै गलत हो भन्ने तथ्यांकले देखाउँछ । 

राजधानीलाई जोड्ने राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएकै बेला एयरलाइन्स कम्पनीहरूले धनगढीको भाडा दिल्लीको भन्दा झन्डै ३ हजार बढी अर्थात् १७ हजार तोके । धनगढी त अझ टाढा भयो, अनलाइन बुकिङ गर्नेहरूले भैरहवाको टिकट लिन खोज्दा अधिकतम भाडा १७ हजार देखायो, जबकि सामान्य अवस्थामा भैरहवाको एकतर्फी भाडा ६ हजारभन्दा तलै हो ।

देशले प्राकृतिक विपत्तिको सामना गरिरहेका र नागरिकले सास्ती खेपिरहेका बेला सबैले सहयोग गर्नु पर्ने हो । तर यही बेलामा मनोमानी ढंगले नागरिकसँग अरू विकल्पको नभएको मौकामा एयरलाइन्स कम्पनीहरूले लुट मच्चाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भयो । विरोधपछि अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली यसबारेमा बोल्नु भयो । तर, देशकै प्रमुख कार्यकारीले सामाजिक सञ्जालमा यसबारेमा राखेको चासो ‘अनुरोध गर्छु’ भन्नेमा सीमित थियो ।

उहाँले लेख्नु भएको छ– ‘हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’ जबकि सामान्य समय होस् वा विपद्को समय मनोमानी कालाबजारी गर्नेलाई तत्काल कारबाही गर्न सक्ने कानुन छ ।

प्रधानमन्त्रीको स्ट्याटसमा विवेक तिमिल्सिना लेख्नुहुन्छ - नेपाली एयरलाइन्सको लापरबाही अब हद पारिसक्यो । देशभर बाढी र पहिरोले संकट निम्त्याउँदा मानिसहरु अन्योलमा परिरहेका बेला भाडा अन्तर्राष्ट्रिय उडानभन्दा दोब्बर छ । काठमाडौंबाट दिल्लीको भाडा ११२८२ छ । तर धनगढीको भाडा १७००० ? आखिर हामीलाई ठग्नुपर्ने कति बेला हो भनेर कुरेर बसेजस्तो छ ।’

हवाईभाडामा मनपरी मूल्य कायम गरिएको बारेमा संसदीय समितिले समेत चासो देखाएको छ । राज्य व्यवस्था समितिले हवाई भाडा नियन्त्रण गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

खासमा विपत्तिका बेला एयरलाइन्स कम्पनीहरूले सहुलियतपूर्ण रूपमा सेवा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने हो । तर, अप्ठेरो परिस्थितिको फाइदा उठाउने मौका यही हो भनेजस्तै गरी एयरलाइन्स कम्पनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन् । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने टिकटमा माथिल्लो सीमा तोकिए पनि हाल न्यूनतम मूल्यमै सेवा दिन निर्देशन दिइएको जनाएको छ ।

प्रधानमन्त्रीको अनुरोध र नागरिकको चर्को आलोचनापछि एयरलाइन्स कम्पनीहरूले माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । यो निर्णय १६ असोजसम्म लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, जति बेला नागरिकलाई अप्ठेरो पर्छ, जति बेला नभई नहुने परिस्थिति सिर्जना हुन्छ, त्यही बेला सेवा प्रदायकहरुले मूल्य र शुल्कमा मनपरी गर्ने प्रवृत्ति छ ।

अहिले काठमाडौँ भित्रिने सबै नाका बन्द भएका बेला अब तरकारी र खाद्यान्न तथा अन्य आवश्यक वस्तुमा यस्तै मनोमानी मूल्य र कालोबजारी हुने सम्भावना छ । यसमा पनि सरकार सामाजिक सञ्चालकको स्ट्याटसमा मात्र सीमित नहोस् ।

सम्बन्धित समाचार...

अधिकतम भाडादरमा टिकट नबेच्ने वायुसेव सञ्चालक संघको निर्णय


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।