अधिकतम भाडादरमा टिकट नबेच्ने वायुसेव सञ्चालक संघको निर्णय

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अधिकतम भाडादरमा टिकट नबेच्ने वायुसेव सञ्चालक संघको निर्णय

काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महँगो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको पहलमा वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मंगलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुनुभयो । ‘तीन दिनलाई एयरलाइन्सहरुले ‘अफर फेयर’ अधिकतम माथिल्लो भाडादर हटाइदिएका छौँ, सस्तो दरमा मात्रै टिकट बिक्री भएको छ’, उहाँले भन्नुभयो ।

सरकारकोतर्फबाट पनि इन्धनमा सहुलियत तथा विमानस्थल शुल्क, जहाज पार्किङ शुल्कमा छुट गर्न आग्रह गरिएको र त्यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले बताउनुभयो ।

सामाजिक सञ्जालमा हवाई भाडा महँगो भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नै विपत्तिको समयमा यात्रुहरुसँग पहिलाभन्दा सहुलियत मुल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । अध्यक्ष कार्कीले विपद्‌मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गर्नुभयो ।

हवाई यात्रुको चाप बढेपछि हवाई कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छोडेका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध छन् । यस्तो अवस्थामा हवाई भाडा बढाएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

प्रधानमन्त्री ओलीले विपतको अवस्थामा पहिलेको भन्दा सहुलियत वा पहिलेकै मूल्यमा उडान गरेर विपतमा सहयोग गर्न अनुरोध गर्नु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.