दुई दिनदेखि चितवनमा रोकिएका गाडी गन्तव्यतर्फ पठाइयो

आश्विन १३, २०८१ |राजु चौधरी
दुई दिनदेखि चितवनमा रोकिएका गाडी गन्तव्यतर्फ पठाइयो

चितवन । अविरल वर्षाले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि नारायणगढमै रोकिएका सवारी साधानहरु आज साँझबाट गन्तव्यमा पठाइको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको अवस्था सामान्य र काठमाडौं प्रवेश गर्ने नाकाको अवरोध हट्ने क्रममा रहेकाले भरतपुरको आँपटारी, रामनगर र जुगेडीमा रोकिएका सवारी साधानलाई गन्तव्यतर्फ पठाइएको हो । 

पोखरा जाने राजमार्गमा अवरोध नभएको र धादिङसम्म पनि अवरोध नभएकाले सवारी साधन छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । 

वर्षाले पहिरोको जोखिम बढेपछि चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि सवारी आवागमन बन्द गरेको थियो । तर, शनिबार पनि काठमाडौं प्रवेश गर्ने मुख्य नाका र पोखरातर्फको राजमार्गमा पहिरो खसपेछि शनिबार दिउँसोसम्म पनि सवारी आवागमन बन्द गरिएको थियो । हिजो अपरान्हसम्म पोखरातर्फ जाने सवारी साधनलाई छाडिएको थियो भने राति पुनः बन्द गरिएको थियो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।