
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बनरा नदी किनार, जहाा कृषकको मिहिनेत, सङ्घर्ष र जोखिम एउटै ठाउँमा देखिन्छ ।
बगरमा पसिना बगाएर उब्जाएका साग, तरकारी र फलफूल, बजारमा उचित मूल्य नपाएपछि कृषकहरू बाध्य छन्, पूर्वपश्चिम राजमार्गकै छेउमा टहरा थापेर बेच्न । तर, यो व्यापार अवसरभन्दा बढी जोखिमपूर्ण छ ।
बनरा नदीको किनारमा बगर खेती गरेर उत्पादन गरिएका ताजा साग, तरकारी र फलफूल, अहिले राजमार्गकै छेउमा सजिएका छन्। यहाँ करिब १५ जना कृषक टहरा थापेर दैनिक रूपमा व्यापार गरिरहनु भएको छ। कोही कृषकले आठ दश वर्षदेखि यहीं बसेर व्यापार गर्दै आउनु भएको छ भने कोही नयाँ पनि थपिनु भएको छ।
सडकमै जोखिम मोलेर व्यापार गर्दा पनि कृषकहरूको दैनिक आम्दानी भने कम छैन। उहाँहरूका अनुसार, दिनमा कम्तिमा ३ हजारदेखि बढीमा ७ हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ। चैतदेखि असार मध्यसम्म करिब एक सय दिन यहीँ सडक किनारमै व्यापार गरेर एक सिजनमा ३ लाखदेखि ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कृषकहरूको भनाइ छ।
तर, यो आम्दानी सजिलो छैन । साँघुरो पूर्वपश्चिम राजमार्ग, दायाँबायाँ भिरालो भूभाग, त्यसमाथि तीव्र गतिमा गुड्ने सवारी साधन । कुनै पनि बेला दुर्घटना हुन सक्ने उच्च जोखिममा हुनुहुन्छ, यहाँ व्यापार गर्ने कृषकहरू। हुरी बतास, चर्को घाम, तातो हावा वा भनौा वर्षाजन्य विपद्, कुनै पनि समयमा सुरक्षित बस्ने व्यवस्था छैन।
साथै, सवारी साधनबाट उड्ने धुलो र धुवाँले स्वास्थ्यमा समेत असर पारिरहेको छ। यद्यपि, सडक छेउमै बसेर व्यापार गर्दा मात्रै उचित मूल्य पाइने भएकाले सडकदेखि टाढा सर्न सक्ने अवस्था पनि छैन। जोखिम मोलेर व्यापार गर्न बाध्य यहाँका कृषकहरू स्थानीय सरकार र सरोकारवाला निकायसँग सुरक्षित, व्यवस्थित र दिगो व्यापार स्थलको माग गरिरहनु भएको छ।
कृषकको पसिना सुरक्षित बनाउन अब जिम्मेवार निकायको ध्यान कहिले जाने? जोखिममा चलिरहेको यो व्यापारलाई सुरक्षित बनाउने जिम्मा कसको ? सम्बन्धित निकायले चासो नदिएसम्म कृषकहरूको यो सङ्घर्ष यस्तै जोखिमसँगसँगै जारी रहने देखिन्छ।