सार्वजनिक यातायातको टिकट बुकिङ नखुल्दै ७० प्रतिशत हवाई टिकट बिक्री

आश्विन ९, २०८१ |भरत रावल
सार्वजनिक यातायातको टिकट बुकिङ नखुल्दै ७० प्रतिशत हवाई टिकट बिक्री

काठमाडौं । गत वर्ष दसैं-तिहारको अवधिमा हवाईमार्गबाट ४ लाख यात्रुले संघीय राजधानी काठमाडौं ओहोर-दोहोर गरेका थिए । यस वर्ष ३० प्रतिशत यात्रु बढेर ५ लाख पुग्ने अनुमान नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

सडकमार्ग भरपर्दो नहुँदा चाडपर्वको समयमा हवाई मार्गबाट दसैं मनाउन जानेको संख्या बढ्दै गएको छ । तर सडकमा गुड्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ नखुल्दै ७० प्रतिशत हवाई टिकट बिक्री भइसकेको छ ।

कामको सिलसिलामा घरबाट टाढा हुनेहरुले समयको बचत गर्न र सहजै घर पुग्न हवाई यात्रालाई प्राथमिकता राख्ने गर्छन् । विगतका वर्षमा जस्तै यस पटक पनि दसैंका बेला हवाई टिकटको माग बढेको छ । सडकमा गुड्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ नखुल्दै अहिलेसम्म हवाई जहाजका ७० प्रतिशत टिकट बुकिङ भइसकेका छन् । कम उडान हुने कतिपय ठाउँको त टिकट नै सकिइसकेको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिनुभयो ।

धेरै उडान हुने ट्रंक रुटमा पनि ३० प्रतिशत टिकट मात्रै बाँकी छन् । ती पनि महंगा । अरु बेला ६ हजार ५ सय रुपैयाँ हाराहारीमा पाईने धनगढीको हवाई टिकटको मूल्य अहिले १३ हजारदेखि १७ हजारसम्म पुगेको छ । त्यस्तै दैनिक ३० भन्दा बढी उडान हुने पोखराको हवाई टिकटको न्यूनतम् मूल्य नै ४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई सेवा कम्पनीका लागि न्यूनतम् र अधिकतम भाडा दर तोकेको हुन्छ । चाडपर्वको समयमा माग बढ्ने हुँदा वायु सेवा प्रदायक कम्पनीहरुले अधिकतम् मूल्यमा टिकट बेच्ने गरेका छन् । वायु सेवा कम्पनीहरुले न्यूनतम् भाडा, फ्यूल सटचार्ज, विमानस्थल शुल्क र कर जोडेर कुल भाडा निर्धारण गर्छन् । अन्य समयमा न्यूनतम् भाडा लिने कम्पनीहरुले पनि टिकटको माग बढेपछि अधिकतम् पुर्‍याउने गरेका हुन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।