साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत हिनामिनाको अभियोगमा जीबी राईसहित १७ जनाविरूद्ध मुद्दा दायर

आश्विन ८, २०८१ |राजु चौधरी
साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत हिनामिनाको अभियोगमा जीबी राईसहित १७ जनाविरूद्ध मुद्दा दायर

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गितेन्द्रबहादुर (जीबी) राईलगायत १७ जना विरूद्ध आज (मंगलबार) चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आज मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले हदम्यादका कारण हालसम्म भएका अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको बताए । उनले सहकारी प्रकरण अनुसन्धान समय लाग्ने भएकाले हदम्यादलाई ध्यानमा राखेर मुद्दा दायर गरिए पनि अझै अनुसन्धान जारी रहने बताए ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन । सहकारीको बचत अपचल गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको र अदालतले कारागार चलान गरी सकेका कुमार रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको थियो । अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको छ ।

साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएकोले त्यसबारे पुनः अनुसन्धान गरेर पुरक प्रतिवेदन पेस गर्न चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ । 

साहारा सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रूपैयाँ बराबरको कारोबार के-कसरी, को-कोसँग भएको हो ? सोको विवरण प्राप्त भएको नदेखिएकाले त्यसबारे अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन समेत दिएको छ ।

चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलका अनुसार साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । उजुरी दिनेहरूका अनुसार आफूहरूले बचत गरेको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ सहकारीले फिर्ता गरेको छैन ।

सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारी पीडितहरु दोषीलाई कारबाहीको माग गर्दै पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement