स्कूल बगायो, पढाइको चिन्ता

आश्विन १, २०८३ |नारायण किलम्बू
स्कूल बगायो, पढाइको चिन्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भइ काठमाडौंका विभिन्न अस्थायी आवास तथा होल्डिङ सेन्टरमा बालबालिकाहरुको शिक्षण सिकाइको व्यवस्था मिलाइएको छ । एलो गुम्बालगायत विभिन्न स्थानमा आश्रित बालबालिकालाई काठमाडौंका विभिन्न सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । रसुवा र नुवाकोटका स्थानीय तहसँग समन्वय गरि काठमाडौं महानगरपालिकाको पहलमा आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाइएको हो । ती विद्यालयहरुले प्रभावित क्षेत्रका बालबालिकाको कसरी शिक्षण सिकाइ गरिरहेका छन् त ?

काठमाडौंको डल्लुस्थित गीतामाता माध्यामिक विद्यालयमा हामी दिउँसो पुग्दा विद्यालयको एउटा कोठामा स-साना बालकालिका पेन्टिङमा रमाइरहेका थिए । भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंका गुम्बामा आमाबुबासहित आश्रय लिएका बसेका ६० जना बालबालिकालाई यहाँ अध्ययन गर्न आएका हुन् । त्यसमध्ये २३ जना छ वर्ष उमेर समूहका रहेका छन् । शिक्षक शिक्षिकाले पेन्टिङ चित्रकला र गीतमार्फत बाढीपछिको त्रासदी हटाउन रमाइलो वातावरणमा ती बालबालिकालाई भुलाइरहेका छन् । बाढी प्रभावित क्षेत्रका बालबालिका मात्र नभइ काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएर बसेका अन्य ७२ जना पनि गीतामाता विद्यालयमा पढ्छन् । आफ्नो थातथलो र विद्यालय तत्कालै फर्कन स्थिति नभएपछि आश्रयस्थलबाटै विद्यालयमा आएर पढाइलाई निरन्तरता दिइरहेको विद्यार्थीहरु बताउँछन् ।

काठमाडौंमा अस्थायी आश्रय लिएर बसेका रसुवाको स्याफ्रुबेसीस्थित कोमिन श्यामेवाङफेल माविका ६० जना, नुवाकोटको त्रिभुवन माविका १० र जेडी बोडिङ स्कुलका २ जना बालबालिकालाई गीतामाता विद्यालयमै पढ्ने व्यवस्था मिलाइएको छ । गुम्बामा आश्रय लिएर बसेकामध्ये ७० जना अझै विद्यालय आएका छैनन् । विद्यालय आएकाहरुको दैनिक सामान्य बनाउन हरेक दिन मनोपरामर्श दिई पढाईसँगै मनोरन्जनात्मक र सिजनात्मक गतिविधि गराउँदै आएको विद्यालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट बिस्थापित हुनेमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन् ।

रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहसँगको समन्वय र काठमाडौं महानगरपालिको सहयोगमा ती बालबालिकाको पठनपाठन व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । विपद्को बेला शैक्षिक सत्रको बीचमा भएपनि शिक्षण सिकाइमा क्षति नहोस भनेर पढ्ने व्यवस्था गरिएको हो । त्यस्ता विद्यार्थीलाई आश्रयस्थलबाट बसमार्फत विद्यालय ल्याउने पुर्याउने गरिएको छ ।

बाढीबाट विस्थापित भई काठमाडौंकै अन्य स्थानमा अस्थायी आश्रय लिएका ४ जना बालबालिकाको भने ज्ञानोदय माविमा पठनपाठनको व्यवस्था मिलाइएको छ । गीतामाता विद्यालयमा आउने ती विद्यार्थीलाई शिक्षण सिकाइका लागि चाहिने थप दुई शिक्षकसहित शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने छ ।

गीतामाता विद्यालयमा आएका बालबालिकामध्ये केहीले आमाबुबा गुमाएका छन् । विद्यालयमा नियमित रुपमा १९ सय विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठाको थप व्यवस्था गरेर भएपनि विपद्बाट जोगिएर आएका बालबालिकालाई उचित शैक्षिक वातावरणमा अध्ययन गराउने विद्यालयहरुले प्रतिवद्धता जनाएका छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।