यस्तो छ चाडपर्व लक्षित अफरको वास्तविकता

आश्विन ६, २०८१ |भरत रावल
यस्तो छ चाडपर्व लक्षित अफरको वास्तविकता

काठमाडौं । चाडपर्व र मेला महोत्सवमा धेरैभन्दा धेरै सामानको बिक्री गर्न छुट अफर गर्ने अन्तर्राष्ट्रिय अभ्यास नै हो । तर नेपालमा भने यस्ता अफरका नाममा उपभोक्ता ठगिने गरेका छन् । यस वर्ष पनि दशैं नजिकिएसँगै बजारमा जताततै अफरै-अफर देखिन्छन् । लत्ताकपडादेखि गाडी र इलेक्ट्रोनिक वस्तुमा छुट र 'एउटा किन्दा अर्को सित्तैमा' जस्ता अफर छन् । के हुन् त यस्ता अफरका वास्तविकता ? के छुट दिइएजस्तै उपभोक्ताले सामानमा सहुलियत पाइरहेका छन् त ? अनि के, व्यापारीले नाफा नै नहुने गरी छुट दिन्छन् त ?

गाडी किनेर कुपन स्क्रायाच गर्दा एक लाखसम्म छुट, फ्रिज किन्दा टिभी सित्तैमा, नयाा इन्टरनेट जोड्दा तीन महिना सित्तैमा जस्ता विज्ञापन र अफर अहिले बजारमा जताततै सुन्न पाइन्छ । त्यतिमात्रै होइन, दशैमा सबैभन्दा बढी बिक्री हुने कपडामा त ७० प्रतिशतसम्म छुट घोषणा गरेका छन् । कैयौंले त एउटा किन्दा अर्को सित्तैमा भनेर सामान बेचिरहेका छन् । कतै तपाईं यस्ता छुट र अफरको लोभमा पर्दा ठगिनुभएको त छैन ? किनभने जानकारहरु भन्छन्, व्यापारीले घाटाको व्यापार गर्दैन ।

वर्षभरिमा हुने व्यापारको ३० प्रतिशत व्यापार चाडपर्वको समयमा हुने गर्छ । यस्तो समयको फाईदा उठाउँदै व्यापारीले उपभोक्तालाई विभिन्न बहानामा ठग्ने गरेका छन् । तर, व्यापारी भने यस्ता छुट र अफरले उपभोक्ता र व्यापारी दुवैलाई फाईदा हुने दाबी गर्छन् ।

उपभोक्ता संरक्षण ऐन २०७४ अनुसार यस्ता अफर तथा छुटको घोषणा गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर, अधिकांशले यस्तो अनुमति लिने गरेका छैनन् ।

तर सरकारी नियमन कमजोर छ । विभागले अनुमति नलिइकन अफर तथा छुटको घोषणा गरेका कसैलाई पनि अहिलेसम्म कारबाही गरेको छैन । यसकारण पनि चाडपर्वको समयमा उपभोक्ता मूल्य र गुणस्तर दुवैमा ठगिने गरेका छन् । कालोबजारी, मूल्य र गुणस्तरमा हुने ठगी नियन्त्रण गर्न भन्दै चाडपर्व सुरु भएसँगै दिनहुँ सरकारी टोली बजार अनुगमनमा निस्कने गर्छ । तर, अनेक प्रकारका छुट, एक किन्दा एक सित्तैमा, कार्ड स्क्रायाचजस्ता जस्ता विभिन्न अफरका नाममा उपभोक्ता ठगिएको प्रति भने कसैको ध्यान जान सकेको छैन, न त उपभोक्ता आफैं जागरुक छन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।