जलाधार संरक्षणमा जुट्‌यो चौतारा साँगाचोकगढी नगरपालिका

भाद्र २१, २०८१ |कमला पाख्रिन
जलाधार संरक्षणमा जुट्‌यो चौतारा साँगाचोकगढी नगरपालिका

सिन्धुपाल्चोक । स्थानीयसँग सहकार्य गर्दै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका जलाधार संरक्षणमा जुटेको छ । 

जलवायु परिवर्तनले पानीका मुहान सुक्ने क्रम बढ्दै गएपछि साँगाचोक क्षेत्रको वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी र जलचरको पर्यावरण चक्रको अनुकूलता कायम राख्ने प्रयासमा पुराना पोखरीको संरक्षण तथा नया पोखरी निर्माण गरी जलाधार संरक्षणमा जुटेको हो ।

यो साँगाचोकको पानीचौरमा दुई वर्षअघि निर्माण भएको एक करोड लिटर क्षमताको रिचार्ज पोखरी हो । अहिले यस पोखरीमा बर्खामा बगेर आएको भल जम्मा भइरहेको छ । साना र ठूला गरी हिउँद काम लाग्ने गरी यस्ता सात सयवटा पोखरीमा अहिले धमाधम बर्खे पानी जम्मा भइरहेको छ ।

सिन्धुपाल्चोकको साँगाचोक सुक्खा क्षेत्र हो । हिउँदमा मुहान ठप्पै सुक्ने हुदाँ खानेपानीको हाहाकार हुन्छ । यहाँका कतिपय पुराना मूल सुकिसकेका छन् । जसको प्रत्यक्ष असर स्थानीय बासिन्दा, खेतियोग्य जमिन, वन जंगलका बोटबिरुवालाई परेको छ । पछिल्लो दुई वर्षयता मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानलाई पुनर्जीवित गर्न बर्खाको पानी जम्मा गर्ने रिचार्ज पोखरीबाट सहयोग पुगेको स्थानीयको अनुभव छ ।

पोखरी, मुहान संरक्षणका लागि मात्र नभई भलबाढीले तल्लो तटीय क्षेत्रमा ल्याउनसक्ने प्राकृतिक प्रकोपको जोखिम नियन्त्रणको लागि पनि उपयोगी देखिएको छ । पोखरी आसपास नयाँ-रैथाने बिरुवा उम्रिएका छन् । केही पुराना मुहानमा मूल फेरि उम्रिन थालेको सुखद संकेत देखिएको छ ।

सुक्खा बढ्दै जाँदा साँगाचोक क्षेत्रको प्राकृतिक सौन्दर्य ह्रास भइरहेको थियो । त्यस्तै पानीका स्रोत मासिँदा वन्यजन्तु, चरासँगै जलचर पनि लोप हुँदै जाने अवस्था थियो । यो प्रयासले मुहानसँगै पर्यावरण चक्र जोगाउन पनि टेवा पुग्ने विश्वास लिइएको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement