सबै दलको सहमतिबाटै संविधान संशोधन हुने भएकाले अपव्याख्या गर्न आवश्यक छैन : गृहमन्त्री लेखक

भाद्र २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सबै दलको सहमतिबाटै संविधान संशोधन हुने भएकाले अपव्याख्या गर्न आवश्यक छैन : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले सबै दलबीच सहमति गरेरै संविधान संशोधन हुने भएकाले अपव्याख्या गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभएको छ ।

नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रका आधारभूत मूल्यमान्यता र समावेशी चरित्रलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको दाबी गर्नुभएको हो । संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्ताबेज भएकोले यसको संशोधन गर्ने विषय नराम्रो नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो डेढ वर्षमा पटकपटक सत्ता समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा निराशा छाएकाले ठूला दल कांग्रेस र एमालेको समीकरण बनेको जिकिर पनि उहाँले गर्नुभयो । यसअघि गृहजिल्ला कञ्चनपुरबाट फर्किने क्रममा गृहमन्त्री रमेश लेखकले ६ वर्षअघि कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको जबरजस्ती करणीपछि हत्या भएको घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाइएको बताउनुभएको थियो ।

उहाँले निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरूका पक्षमा पनि सरकारले केही न केही निर्णय गर्ने आश्वासन दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement