अलैँचीको भाउ बढेपछि ताप्लेजुङका किसान उत्साहित

भाद्र १८, २०८१ |आनन्द गौतम
 अलैँचीको भाउ बढेपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ । यस वर्ष अलैँचीले राम्रो मूल्य पाउन थालेको छ । गतवर्षको तुलनामा अहिले किलोमै ७ सय रुपैयाँले भाउ बढेर २१ सय रुपैयाँमा बिक्री हुन थालेको हो । स्थानीय बजारमा अलैँचीको भाउ बढेपछि किसान उत्साहित देखिएका छन् । तर अन्तर्राष्ट्रिय बजारमा यस वर्ष माग कस्तो हुन्छ भन्ने यकिन चाहिँ छैन ।

ताप्लेजुङका नौ वटा स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोला बाहेकका सवै वडामा अलैंची खेती हुन्छ । अलैंचीको मूल्यमा हुने उतारचढावले यहााका किसानलाई विशेष अर्थ राख्छ । यहाँका धेरैजसो किसानले अलैंची बिक्रीबाट हुने आम्दानीबाटै आफ्नो खर्च टार्दै आएका छन् । ताप्लेजुङले अलैँची बिक्रीबाटै वाषिर्क ६ अर्ब रुपैयाँसम्म जिल्ला भित्र्याउने गरेको छ । यस वर्ष उत्पादन मूल्य राम्रो पाएपछि किसान उत्साहित भएका छन् । तर भाउ कतिसम्म टिकाउ हुन्छ भन्नेमा किसान मात्र होइन, व्यापारी नै ढुक्क छैनन् ।

नेपालका ४२ जिल्लामा अलैँची खेती हुँदै आएको छ । सबैभन्दा धेरै कोशी प्रदेशका पहाडी जिल्लामा अलैँची उत्पादन हुन्छ । नेपालमा वार्षिक ६ हजार पाँच सय टन अलैँची उत्पादन हुने गरेकोमा ९८ प्रतिशत भारत निर्यात हुने गरेको तथ्यांक छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार ९३ प्रतिशत उत्पादन कोशी प्रदेशमा हुन्छ । बजारको जिम्मा र मूल्यको निर्धारण भने भारतीय सिमावर्ती क्षेत्रमा रहेको झापाको बिर्तामोडका व्यापारीले गर्छन् ।

नेपालमा उत्पादित केही अलैँची कतार, साउदी, बहराइनमा समेत निकासी हुँदै आएको छ । केही अलैंची पाकिस्तान निर्यात हुने गरे पनि अधिकांश चाहिँ भारतमै पुर्‍याइने गरेको हो ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement