बैतडीमा बाढीले एउटा घर बगायो

भाद्र १४, २०८१ |मनोज बडू
बैतडीमा बाढीले एउटा घर बगायो

दार्चुला । बैतडीको सुर्नया गाउँपालिका–६ को घोगेडा खोलामा आएको बाढीले स्थानीय शंकर कुँवरको दुई कोठे घर बगाएको छ । गएरातिको अविरल बर्षाले उक्त खोलामा आएको बाढीले खोला तटीय क्षेत्रमा अन्य धनमालको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

सुर्नया गाउँपालिका–६ कै सर खोलामा आएका बाढीले स्थानीय हर्क कुँवरको घर जोखिममा परेको छ । बाढीले खानेपानीका मुहान बगाउँदा स्थानीय समस्यामा परेका छन् । घोगेडा खोलाले स्थानीय २५ परिवारका मकै र धानबाली नष्ट गरेको स्थानीय जगदीश कुँवरले बताए ।

यस्तै बाढीले खोलामा हालिएका चारओटा पुलहरु जोखिममा परेका छन् । पुलका भित्ताहरु खोलाले बगाइसकेको छ । उक्त खोलामा रहेका चारओटा पानीका मूहान पूर्ण रुपमा नष्ट भएका छन् । बिहीबार राति बैतडीमा भारी बर्षाको बाढी र पहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलनका लागि प्रहरी चौकी शंकरपुरबाट प्रहरी टोली खटिएको सुर्नया गाउँपालिका–६ का वडाध्यक्ष मदनराज अवस्थीले जानकारी दिनुभयो । 


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।