रुकुम पूर्व । तल बर्खाको भेलमा सुसाउने देउखोला, माथि हेर्दा आँखा रिङ्ने भिर अनि बाटो हिँड्न डोरीकै भर । पूर्वी रुकुमको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाका- ६ वटा वडाका नागरिक अहिले यस्तै जोखिमपूर्ण यात्रा गरेर सदरमुकामसम्म आउजाउ गर्न बाध्य छन् । कोही बिरामी परे अस्पताल पुर्याउन होस् वा गाउँमा खाद्यान्न ओसार पसार गर्नु होस्- डोरीकै भरमा भिर नछिचोली उनीहरूलाई धर छैन ।