कञ्चनपुरको दोधाराचाँदनीमा गाउँ पसेर आतंक मच्चाएको बाघ नियन्त्रणमा

बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छाडिने
श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरको दोधाराचाँदनीमा गाउँ पसेर आतंक मच्चाएको बाघ नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा गाउँ पसेर एक जना महिलाको ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

बुधबार दिउँसो उखुबारी आसपास देखिएको नरभक्षी बाघलाई डार्ट गरी शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान ०९:३७ बजे बाघलाई बेहोस गर्ने सुई डार्ट हानेर नियन्त्रणमा लिइएको नेपाली सेनामा मेजर नवीन सिंह बोहराले जानकारी दिनुभएको छ । बाघलाई पहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगी कुनै चोटपटक भए नभएको जाँच गरिने र त्यसपछि सम्भवतः बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोडिने बताइएको छ ।

बाघले बिहीबार बिहान महिलामाथि आक्रमण गरेर ज्यान लिएको खबर पाउनासाथ उसलाइ नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली व्यापक रूपमा परिचालन गरिएको थियो ।

आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०:४५ बजेको समयमा उक्त नरभक्षी बाघले एक्कासी आक्रमण गर्दा दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ कमलशा टोल बस्ने २६ वर्षीया हिरा शाहको मृत्यु भएको थियो । हिराका श्रीमान् र दुई वर्षका एक दुधे बालक छन् ।

हिराका श्रीमान् भारतको हिमाञ्चलमा मजदुरी गर्ने गरेको र उहाँ आएपछि मात्रै हिराको शव परीक्षण गरी दाहसंस्कार कार्य गरिने पारिवारिक श्रोतले जनाएको छ । हिमाञ्चलमा बाढी र पहिरोले बाटो अवरुद्ध भएका कारण उहाँ फर्किनमा केही ढिलाइ भएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.