म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको टनेलको फाइनल ब्रेकथ्रु गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको ६ हजार २ सय ७० मिटर लामो टनेलको ब्रेकथ्रु भएको हो । टनेलब्रेकथ्रसँगै आयोजनाको समग्रमा ८५ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति रहेको छ ।
सर्चट्याङ्क, पावर हाउस, टेलरेस समेतका लट-१ तर्फ ६० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै पावर हाउस भित्रका जेनेरेटर, टर्वाइन, स्वीचयार्ड, ट्रान्समिसन समेतका लट-२ तर्फ २५ प्रतिशत भौतिक प्रगति रहेको छ ।
अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा याममा ४ करोड ९९ लाख ७८ हजार र वर्षा याममा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा बिजुली उत्पादन क्षमता रहेको छ ।
राहुघाट जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विच आर्डबाट करिब ७ सय मिटर पूर्वमा रहेको दाना-कुस्मा २२० केभिए प्रसारणलाइनमा लुप इन, लुप आउटु सिस्टममा जोड्ने प्रस्ताव छ ।