प्युठान । दुई वर्षअघिको पहिरोले प्युठानको माण्डवी गाउँपालिका २ धनचौरमा ८ वटा घरगोठ बगाएको थियो । पहिरो गएको दुई वर्ष पुग्नै लाग्दासमेत पहिरोबाट विस्थापित भएकाहरूको पुनर्स्थापना नहुँदा उनीहरू अहिले पनि पहिरोको जोखिम मोलेरै बस्न बाध्य छन् ।
२०७९ असोज १८ गतेको पहिरोले माण्डवी गाउँपालिका २ धनचौरका धनबहादुर खत्रीको घर बगायो । पहिरोले घरबार विहीन बनाएपछि उहाँ दुई वर्षदेखि अरूकै घरमा आश्रय लिएर बसिरहनुभएको छ । लामो समय बितिसक्दा पनि सुरक्षित आवासको टुङ्गो नहुँदा उहाँलाई सकस छ । थातथलो छोडेर जाने ठाउँ पनि छैन ।
धनचौरकी रामकली नेपालीको समस्या पछि उही हो । पहिरोले घर चर्केर बस्नै नमिल्ने भएपछि छेउको भैँसीगोठमा सरेकी रामकलीको परिवार गाउँ पहिरोको उच्च जोखिममा छ भन्ने थाहा पाउँदा पाउँदै पनि कतै जान सकेको छैन । ज्याला मजदुरी गरेर आएको पैसाले परिवार चलाउनै ठिक्क हुन्छ । २०७९ असोज १८ गतेको पहिरोले गाउँका ८ घरगोठ बगाएको थियो भने दर्जनौँ घर जोखिममा पारेको थियो । सिंगो धनचौर गाउँ पहिरोको उच्च जोखिममा छ ।
गाउँ पहिरोमा बग्ने खतरा भएपछि धेरै जना थातथलो छोडेर दाङतिर झरेका छन् । उतै ज्याला मजदुरी गरेर परिवार पालेर बसेका छन् । केही भने पहिरोको जोखिम क्षेत्रमै बसिरहेका छन् ।
पहिरोले विस्थापित भएकाहरूको पुनर्स्थापना र पुनर्बासका लागी सरकारी तवरबाट कुनै कामै भएको छैन । धाँजा फाटेको ठाउँ ठाउँबाट बर्खाको पानी पसेर फेरि पहिरो झर्न थालेपछि पीडितहरू झनै त्रासमा छन् । तर स्थानीय सरकार भने संघ र प्रदेशलाई दोष देखाएर उम्किन खोज्छ ।
पहिरोले विस्थापित गरेको दुई वर्ष हुनै लाग्दा पनि पीडितको स्थायी बसोबासको कुनै योजना नबनाउनु दुखद छ ।