बाढी पहिरोको जोखिममा डोल्पाको दुनै

श्रावण २, २०८१ |सरोज थापा
बाढी पहिरोको जोखिममा डोल्पाको दुनै

डोल्पा । डोल्पा सदरमुकाम दुनैमा मध्यरातमा बाढी पस्दा स्थानीयको बिचल्ली भयो । बजारभन्दा माथिबाट बनाइएको दुनै-तिब्ला सडक खन्दा यत्रतत्र छोडिएका गेग्रान र ढुंगासँगै आएको बाढीले सदरमुकामस्थित जिल्ला अदालत, मालपोत कार्यालय र आधा दर्जन घरमा क्षति पुगेको छ । घरमै बाढी पसेपछि स्थानीयहरू रातभर जाग्राम बसेका थिए भने केही बेर भेरी नदी थुनिदा स्थानीय त्रसित भएका थिए ।

ठूलीभेरी नगरपालिका-३ कि पवित्रा बुढा मंगलबार मस्त निन्द्रामै भएको बेला घरमा एक्कासी बाढी पस्यो । चिच्याउँदै परिवारसहित घरबाट निस्किइन् । बेलैमा निस्कन पाएका कारण अप्रिय घटना हुन पाएन तर घर बस्न नमिल्ने भएको छ । मंगलबार मध्यराति पवित्रासँग स्थानीय पञ्ची रोकाया, कर्णबहादुर न्यौपाने, माया डाँगी र जगत् बुढाको घरमा पनि बाढी पस्यो । घरभित्रै बाढी पसेपछि उनीहरू रातभर जाग्राम बसे, घरमा रहेको सबै सरसमानमा बाढीले क्षति पुर्‍याएको छ ।

केही मिनेट नदी नै थुनिने गरी मंगलबार राती तिप्ला खेलाबाट आएको बाढीले सदरमुकाम दुनैस्थित भेरी नदी थुनेर खोलिएको थियो । सोही राती घारीटोलका आधा दर्जन घरहरू र जिल्ला अदालत तथा मालपोत कार्यालयमा खहरे खोलाको बाडीले लाखौंको क्षति पुगेको छ । 

घरभन्दा माथिबाट खनिएको सडककै कारण घरमै बाढी पसेपछि दुनैका स्थानीयहरू त्रसित छन् । उनीहरूले क्षतिपूर्तिको मागसहित बाढीबाट जोगिने उपाय अपनाउन प्रशासनसँग  हारगुहार गरिरहेका छन् ।

सदरमुकाम दुनैबाट तिब्ला जोड्ने सडक निर्माण गर्दा जथाभाबी फालेर बगेको माटो र ढुङ्गाकै कारण सानो पानी पर्दा पनि बाढीमा परिणत हुने गरेको छ । यो वर्ष मात्रै दुनै बजारमा पटक पटक बाढीले वितण्डा मच्चाइ सकेको छ । सरोकारवाला निकाय भने बाढीबाट हुने क्षति न्यूनीकरणको प्रयास भइरहेको दाबी गर्दै आएको छन् । 

वातावरणीय अध्ययन नै नगरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले दुनै बजारभन्दा माथिबाट दुनै-तिब्ला सडक निर्माण भइरहेको छ । यही सडकका कारण दुनै बजारमा बाढी आएको हो । 


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।