बाँडेरै सकियो भरतपुर अस्पतालको २० बिगाहा जग्गा

निजी मेडिकल कलेजदेखि गैरसरकारी संस्थाहरूको रजाइँ
भाडा बापतको १ अर्ब असुल्न महालेखाले निर्देशन दिए पनि तिर्न अटेरी
असार २६, २०८१ |प्रकाश बम
बाँडेरै सकियो भरतपुर अस्पतालको २० बिगाहा जग्गा

चितवन । चितवनको भरतपुर अस्पतालसँग ३० बिगाहा ११ कट्ठा ६ धुर जग्गाको लालपुर्जा छ । तर अधिकांश जग्गा बाँडेरै सकिएका छन् । अवस्था यस्तोसम्म छ कि, अस्पतालले यसै वर्षदेखि एमबिबिएस कक्षा सञ्चालन गर्दै छ, तर त्यसका लागि पूर्वाधार बनाउनसमेत यथेष्ट जग्गा छैन । अस्पतालको जग्गा निजी अस्पतालदेखि सरकारी संस्थाहरूले बेपर्बाह प्रयोग गरिरहेका छन् । कसैले निःशुल्क प्रयोग गरेका छन् भने कसैले अत्यन्तै थोरै भाडा तिर्ने गरेका छन् । आज हामी अस्पतालको जग्गामा कसले र कसरी रजाइँ गरिरहेका छन्, तपाँईलाई देखाउँदै छौ । 

अस्पतालको जग्गामा भारतीय नागरिकले सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेज अर्थात् पुरानो मेडिकल कलेज, भरतपुर आँखा अस्पताल, साझा औषधि पसल, रक्त सञ्चार सेवा केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय, सीटीइभीटीअन्तर्गतको क्याम्पस चलिरहेका छन् । नाम्सले यसै वर्षदेखि भरतपुर अस्पतालमा चिकित्सा शास्त्रका स्नातक कक्षा सञ्चालन सुरु गर्दै छ । त्यसका लागि पहिलो आवश्यकता हो भवनसहितका पूर्वाधार । अस्पतालको नाममा ३१ बिगाहाभन्दा बढी जग्गा पनि छ । तर, अस्पताललाई भवन बनाउन जग्गा अपुग छ । कारण हो-भरतपुर अस्पतालको जग्गामा सरकारीदेखि निजी अस्पतालसम्मको रजाइँ । 

भारतीय नागरिक नरेन्द्र पम्पट र भी नटराजले सञ्चालन गर्दै आएको पुरानो मेडिकल कलेजले भरतपुर अस्पतालको जग्गा कौडीको भाउमा उपयोग गर्दै आएको छ । कलेजले ४९ वर्षका लागि ९ बिगाहा जग्गाको प्रतिबिगाहा १ लाख रुपैयाँ मात्रै भाडा बुझाउँदै आएको छ, जबकि मालपोत कार्यालय चितवनको २०७९/८० को मूल्यांकनअनुसार उक्त क्षेत्रमा प्रतिकट्ठा ७० लाख रुपैयाँ छ ।

नेपाल सरकारले २०५३ असार १४ गते भरतपुर अस्पतालको जग्गा पुरानो मेडिकल कलेजलाई प्रयोग गर्न दिने निर्णय गरेको थियो । सुरुमा प्रतिवर्ष प्रतिबिगाहा ५० हजार रुपैयाँमा भाडामा दिइएकोमा २०६२ मा अर्को सम्झौता गरी १ लाख पुर्‍याइयो । सम्झौतामा कलेजले भरतपुर अस्पताललाई वार्षिक १२ लाख दिने र प्रत्येक वर्ष वार्षिक रकमको १० प्रतिशतका दरले शुल्क लाग्ने उल्लेख छ । कलेजले २०५४।५५ देखि प्रति महिना रू १ लाखमा १० प्रतिशत थप गरी मासिक १ लाख २० हजारले वार्षिक रु १२ लाखमात्र बुझाउँदै आएको छ । प्रत्येक वर्ष १० प्रतिशतको वृद्धिदरले शुल्क वृद्धि हुँदै जाँदा २०७९।८० मा वार्षिक रु १ करोड ४३ लाख २ हजार बझाउनुपर्नेमा ४३ लाख २० हजार बुझायो । २०८०–८१ मा ६३ लाख बुझाएको छ । मेडिकल कलेजबाट भरतपुर अस्पतालले अझै ९९ करोड ८२ लाख असुल गर्नै बाँकी छ ।

महालेखाको ६१ औँ प्रतिवेदनले समेत यो रकम असुल गर्न भनेको छ । त्यतिमात्रै होइन कलेजले सरकारी अस्पतालको जग्गा नेपाल इन्भेस्टमेन्ट बैंकमा धितो राखेर १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण निकालेको छ, जसले गर्दा मालपोत कार्यालय चितवनले जग्गा नै रोक्का राखेको छ । तर अस्पताल प्रशासन भने मेडिकल सामग्री र भौतिक संरचना राखेर ऋण निकालेको तर्क गरिरहेको छ ।

सरकारी जग्गा धितो राखेर निजी मेडिकल कलेजले ऋण लिएको विषयमा अस्पतालले अख्तियार, चितवन जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समेत जानकारी गराइसकेको छ । यसमा मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको अस्पतालका प्रशासनको दाबी छ ।

अस्पतालको ६ बिगाहा १९ कट्टा १० धुर जग्गा सीटीइभीटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्स कलेजले प्रयोग गरिरहेको छ । उक्त जग्गाको कुल न्यूनतम मूल्याङ्कन अनुसार ९७ करोड ६५ लाख हुन्छ । कुल मूल्यको १ प्रतिशतका दरले लिजमा दिँदा पनि ९७ लाख ६५ हजार प्राप्त हुनुपर्ने हो तर त्यसो भएको छैन । तर कलेजले विना सर्त अस्पतालको जग्गा प्रयोग गर्दै आइरहेको छ ।

कहिले मन्त्र स्तरीय निर्णयबाट त, कहिले अस्पतालका पदाधिकारीले बाँडेरै सिध्याएका छन् भरतपुर अस्पतालको जग्गा । कतिपय जग्गा विनाशर्त निःशुल्क दिइएको छ भने लिजमा दिइएका जग्गाको रकम पनि अत्यन्तै न्यून छ । जिल्ला जनस्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर जग्गा निःशुल्क प्रयोग गरिरहेको छ । गैरसरकारी संस्था नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले ३ बिगाहा १७ कट्ठा १० धुर प्रयोग गरिरहेको छ, तर त्यसबापत भरतपुर अस्पतालले कुनै आम्दानी गर्न पाएको छैन ।

नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले अस्पतालको २ कट्ठा १० धुर जग्गा २०४३ सालदेखि प्रयोग गर्दै आइरहे पनि जग्गाको भाडा तिर्ने गरेको छैन । २०५० सालदेखि साझा औषधि पसलले १ कट्ठा १० धुर जग्गा सामान्य भाडा तिर्दै आएकोमा २०७९ सालदेखि ३ लाख दिने गरी सम्झौता गरिएको छ । अस्पतालले जग्गा फिर्ता गर्न स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म गुहारिरहेको छ ।

चितवनको केन्द्र र व्यापारिक दृष्टिकोणले समेत महत्त्वपूर्ण स्थानमा रहेका जग्गा अवैज्ञानिक र अनुचित ढङ्गले विभिन्न संस्थालाई दिइएको छ । भरतपुर अस्पतालसँग अहिले करिब १२ बिगाहा जमिन बाँकी छ । तर, भएका जग्गा पनि अस्पतालले संरक्षण गर्न सकेको छैन । विभिन्न व्यक्तिहरूले अतिक्रमण गरे पनि त्यसको यकिन तथ्यांक अस्पतालसँग छैन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement