मोदीजी र मैले ईपीजी बनाएका हौं, अब अगाडि बढ्लाः प्रधानमन्त्री ओली

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोदीजी र मैले ईपीजी बनाएका हौं, अब अगाडि बढ्लाः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल-भारतसम्बन्धी प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफै रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘मैले विचार गरेको छु-लाग्या छ मलाई अब उहाँहरुले पनि समय निकाल्नु होला । बुझौँला । बीचमा कुन कारणले त्यस्तो भयो ? म त हामी बनाउने नै मान्छे । उहाँ पनि छानिएर आउनुभएको छ । म पनि छानिएर आएको छु । दुई वटै प्रधानमन्त्री त्यही इपिजी निर्माण गर्नेहरु नै छौं । त्यो अगाडि बढ्ला’ उहाँले भन्नुभयो ।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उहाँले इपिजी बनाउनेहरु नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताउनु भयो ।

उहाँले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताउनु भयो । उहाँले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धी गर्ने काम गर्न नहुने अडान पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता औैंलाउनु भयो ।

प्रधानमन्त्री ओलीले सो प्रतिवेदन बुझ्न नेपाल सदैव तत्पर रहेको पनि बताउनु भयो । उहाँले भूराजनीतिलाई देखाएर दुई मुलुकबीचको सम्बन्धलाई कमजोर बनाउने काम गर्न नहुने पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement