रोल्वालिङमा बाढी : झोलुंगे पुल र २ वटा फड्के बगायो, च्छोरोल्पा पुगेका १४ पर्यटक अलपत्र

असार २५, २०८१ |केदार शिवाकोटी
रोल्वालिङमा बाढी : झोलुंगे पुल र २ वटा फड्के बगायो, च्छोरोल्पा पुगेका १४ पर्यटक अलपत्र

दोलखा । रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र दुईवटा फड्के बगाएको छ । पुल र फड्के बगाएपछि च्छोरोल्पा हिमताल पुगेका १४ जना आन्तरिक पर्यटक पाँच दिनदेखि अलपत्र परेका छन् ।

दोलखा, सोलुखुम्बुलगायत जिल्लाबाट घुम्न गएका आन्तरिक पर्यटक गौरीशंकर गाउँपालिका ९ को पर्यटकीय गाउँ ना र बेदिङको बीचमा ठूलो पहिरो गएपछि ना मा अलपत्र छन् । उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बाढीले फड्के र पुलसहित पदमार्गमा क्षति गरेपछि सुर्मुचेबाट फर्किएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनुभयो ।

प्रतिकूल मौसमका कारण उनीहरूको हवाई उद्धार पनि हुन सकेको छैन । सञ्चार सम्पर्कविच्छेद भएका कारण उद्धारमा थप कठिनाइ भएको उहाँले बताउनुभयो । ना र बेदिङ गाउँसँग सञ्चार सम्पर्क पनि हुन नसकेकाले त्यहाँका स्थानीयको अवस्था यकिन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनभयो ।

यी गाउँका बासिन्दासँग एक सातालाई मात्रै पुग्ने रासन भएकाले मौसम खुल्नेबित्तिकै ना र बेदिङ गाउँमा खाद्यान्नलगायत सहायता सामग्री पुर्‍याउने तयारी प्रशासनले गरेको छ । गत शुक्रबार रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको डोगाङका सानाठुला आठवटा होटेल बगाउनुका साथै एक जनालाई बेपत्ता बनाएको थियो ।

उता उदयपुरमा पहिरोले घर पुरिँदा त्रियुगा नगरपालिका १५, खाँबुकी ९ वर्षीया रुपकला मगरको मृत्यु भएको छ । रुपकलाकी आमा र भाइ घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले चार घर पुरिएको र अरु सात घर जोखिममा परेका छन् ।

हिजोदेखिको अविरल वर्षाले सुनसरी र मोरङका धेरै ठाउँ जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी, मोरङको केराबारी लेटाङ सुन्दरहरैंचामा क्षेत्रका नदी खोलामा पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ । बाढीले सुनसरी मोरङ औद्योगिक करिडोरका एक दर्जन उद्योग डुबेका छन् ।

उता पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १ स्थित नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको शव फेला परेको छ । बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्रियुगा नदीको बाढीले सप्तरीको सप्तकोशी नगरपालिकाका २ फत्तेपुरका ५४ घर डुबानमा परेका छन् ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement