प्रहरीले समितिलाई भन्यो- सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६२ करोडभन्दा बढी लगानी भएको छ

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रहरीले समितिलाई भन्यो- सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ६२ करोडभन्दा बढी लगानी भएको छ

काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई नेपाल प्रहरीले सुप्रिम सहकारीबाट गोर्खा मिडिया र त्यससम्बद्ध अन्य कम्पनीहरुमा ६२ करोडभन्दा बढी लगानी भएको जानकारी दिएको छ ।

समितिले आज गृहसचिव, प्रहरी महानिरीक्षकलगायत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध अनुसन्धान विभागका प्रमुखलाई बोलाएर सहकारी अपचलनबारे जानकारी लिएको हो । प्रहरी अधिकारीहरुले छानबिन समितिको कार्यादेशमा रहेको सुप्रिमलगायत २९ सहकारीबारे जानकारी गराएको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

सभापति थापाका अनुसार प्रहरीले आफ्नो अहिलेको संयन्त्रले सहकारी ठगीको विषयमा अनुसन्धान गर्न नसक्ने भन्दै छुट्टै संयन्त्र आवश्यक पर्नेसमेत सुझावसमेत दिएको छ ।

नेपाल प्रहरीले अहिलेसम्म सहकारी ठगीका पाँच हजार तीन सय उजुरी परेको समेत समितिलाई जानकारी दिएको छ । त्यसमध्ये ९८ वटा मुद्दा दर्ता भएको जनाइएको छ । अधिकांश मुद्दा ठगीसम्बन्धी छन् । त्यसैगरी अहिलेसम्म प्रहरीले ५५ हजार ४१० पीडितले ११ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ बराबरको रकम ठगी भएको भन्दै उजुरी दिएको पनि प्रहरीले जानकारी दिएको छ ।

सहकारीको रकम अपचलन गरेर विदेश फरार भएकाहरुलाई पक्राउ गरेर स्वदेश ल्याउन पनि सरकारले ध्यान नदिएको प्रहरीको गुनासो छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.