फ्रान्समा संसदीय निर्वाचन : कुनै पनि दलको बहुमत आएन

१८२ सिटसहित वामपन्थी दल एनएफपी पहिलो बन्दा चरम दक्षिणपन्थी दल आरएन तेस्रो स्थानमा सीमित
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रान्समा संसदीय निर्वाचन : कुनै पनि दलको बहुमत आएन

काठमाडौं । फ्रान्समा संसदीय निर्वाचनअन्तर्गत हिजो सम्पन्न दोस्रो तथा निर्णायक चरणको मतदानको नतिजा सार्वजनिक भएको छ । दोस्रो विश्वयुद्धयता पहिलोपटक बहुमत ल्याउने चरम दक्षिणपन्थी दलको चाहनामा भने धक्का लागेको छ ।

सार्वजनिक नतिजाअनुसार वामपन्थी दल (एनएफपी) १८२ सिट जितेर ठुलो दल बनेको छ । त्यस्तै राष्ट्रपति इम्यानुएल म्याक्रोंको सत्तारुढ गठबन्धन अनसम्बलले १६८ सिटमा जित हासिल गरेर दोस्रो स्थान कायम गरेको छ ।

मरिन ली पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी तथा आप्रवासन विरोधी दल ‘नेसनल र्‍याली (आरएन)’ ले भने जम्मा १४३ सिट जितेको छ । योसँगै आरएनले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।

५७७ सदस्यीय फ्रान्सेली संसद्‌मा कन्जरभेटिभ रिपब्लिकनले ४५ सिट जितेको छ । संसद्‌मा बहुमतका लागि २८९ सिट चाहिन्छ । कुनै पनि दलले एकल बहुमत नल्याएकाले वामपन्थी दल र राष्ट्रपति म्याक्रोंको गठबन्धनले संयुक्त सरकार बनाउने देखिएको छ ।

आजै वर्तमान प्रधानमन्त्री ग्याब्रियल अटालले राष्ट्रपति म्याक्रोंलाई राजीनामा दिने तयारी थाल्नुभएको छ । राष्ट्रपतिले न्यु पपुलर फ्रन्ट एनएफपीलाई सरकार बनाउन आह्वान गर्ने बताइएको छ ।

गत आइतबार भएको पहिलो चरणको मतदानमा आरएनले एकतिहाइ मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेको थियो । वामपन्थी गठबन्धन एनएफपी दोस्रो र राष्ट्रपति इम्यानुएल म्याक्रोंको गठबन्धन अनसम्बल तेस्रो स्थानमा रहेका थिए ।

तर, पहिलो चरणमा आरएनले ल्याएको भारी मतबाट त्रसित एनएफपी र अनसम्बलले एक-अर्कालाई सघाउने सहमति गरेकाले दोस्रो चरणमा दक्षिणपन्थी दल आरएन ऐतिहासित जितबाट विमुख भएको हो ।

निर्वाचनमा आश्चर्यजनक रुपमा जित हात पारेपछि वामपन्थी नेता जिन लुक मेलेन्सनले आफ्नो गठबनधनले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताउनुभएको छ । यसअघि चार युरोपेली राष्ट्र स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभानियाले प्यालेस्टाइनलाई राज्यको मान्यता दिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement