बाढी-पहिरो पीडितहरुका लागि राहत र पुनर्स्थापनाको काम तत्काल गर्न सांसदहरुको माग

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी-पहिरो पीडितहरुका लागि राहत र पुनर्स्थापनाको काम तत्काल गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले विपद्का बेला सरकारको उद्धार र राहत व्यवस्थापन फितलो भएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष र शून्य समयमा बोल्दै उनीहरुले बाढी पहिरोबाट भएको क्षति र राहतबारे तत्काल जानकारी दिन सरकारसँग माग गरे ।

बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद ठाकुर गैरेले गृहमन्त्रीले उद्दार र राहतमा तदारुकता देखाउने भने पनि समग्रमा राहत र उद्दारको काम फितलो देखिएको भन्दै आलोचना गर्नुभयो । उहाँले देश विपद्‍मा पर्दा पनि अल्पमतमा परेको सरकारले संविधान र कानुनको छिद्र खोज्दै बाँसुरी बजाइरहेको टिप्पणी गर्नुभयो । बहुमत गुमाएको सरकारलाई एक सेकेण्डसम्म पनि सरकारमा बस्ने नैतिकता नरहेको उहाँको भनाइ छ ।

सांसदहरुले बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनाको काम तत्काल अगाडि बढाउन पनि माग गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसदहरुले संविधान संशोधन गर्न भन्दै नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउपछि राजनीतिक दलहरुको बेचैनी सुरु भएको भन्दै बेचनमाथिको फाइल अगाडि बढाउन माग गरेका छन् । सांसदहरुले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि धारणा राखेका छन् । प्रतिनिधिसभाको अर्को बैठक असार २५ गते बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement