रुसद्वारा युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण, कम्तिमा २९ जनाको मृत्यु

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसद्वारा युक्रेनका विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण, कम्तिमा २९ जनाको मृत्यु

काठमाडौं । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा युक्रेनको राजधानी किएभस्थित एउटा बाल अस्पताल क्षतिग्रस्त भएको छ । रुसले आज युक्रेनका थुप्रै सहर लक्षित गर्दै ठूलो संख्यामा क्षेप्यास्त्र आक्रमण गरेको हो । त्यस क्रममा किएभस्थित ओख्मादित बाल अस्पताल पनि आक्रमणको निशानामा परेको हो । रुसले गरेको आक्रमणबाट आज मात्रै युक्रेनमा कम्तिमा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । किएभमा मात्रै १७ जना मारिएका छन् ।

क्षतिग्रस्त अस्पतालको भग्नावशेष हटाउने काम भइरहेको र त्यहाँ के कति मानवीय क्षति भयो भन्ने यकिन भइसकेको छैन । स्वास्थ्यमन्त्री भिक्टर लिस्कोले क्षेप्यास्त्र आक्रमणबाट क्यान्सर र सघन उपचार कक्ष क्षतिग्रस्त भएको बताउनुभएको छ । घटनास्थलबाट प्राप्त तस्बिरहरुमा केही बालबालिका सलाइन पानी चढाइरहेको अवस्थामा अस्पतालबाहिर बसिरहेको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

क्षेप्यास्त्र आक्रमणबाट अर्को शहर क्रिभी रिहमा कम्तिमा १० जना मारिएको र ३१ जना घाइते भएको जनाइएको छ । क्रिभी रिह युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगर हो भने २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि अतिक्रमण शुरु गरेयता यो सहर बारम्बार आक्रमणको निशाना बन्दै आएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले देशका पाँच वटा शहरलाई लक्षित गर्दै ४० भन्दाबढी क्षेप्यास्त्र आक्रमण गरेको बताउनुभएको छ ।

युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार अनुगमन मिशनले रुसले हवाई आक्रमणको श्रृङ्खला पुनः शुरु गरेयताका महिनामा सर्वसाधारण मारिने क्रम बढेर गएको बताएको छ । अस्पतालमा भएको आक्रमणबारे मस्कोले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

यद्यपि यसअघि उसले आफ्ना सेनाले सार्वजनिक स्थललाई आक्रमणको तारो बनाउने नगरेको दाबी गर्दै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि मस्को पुग्नु केही घण्टा अगावै रुसले युक्रेनी सहरहरुमा क्षेप्यास्त्र आक्रमण गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement