उपयुक्त समय आएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छौं : रमेश लेखक

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपयुक्त समय आएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छौं : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपयुक्त समय आएपछि एमालेसँग भएको सहमति सार्वजनिक गरिने बताउनुभएको छ ।

त्यो उपयुक्त समय कहिले हो भन्नेबारे भने लेखकले उल्लेख गर्न चाहनुभएन । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै नेता लेखकले संविधानमाथि समीक्षा गर्नुपर्ने बेला भएकाले अब बन्ने सरकारले त्यसका लागि काम थाल्ने र त्यसपछि मात्रै संशोधनको प्रक्रिया सुरु हुने बताउनुभयो । दुई दलबीचको सहमतिमा संविधानको समीक्षा र संशोधनको विषय उल्लेख भएको उहाँको भनाइ छ ।

आफैंले कुनै समय संविधानविरोधी भएको आरोप लगाएको नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीले संविधानविरोधी गतिविधि नगर्ने विश्वास लेखकले व्यक्त गर्नुभयो । राष्ट्रिय सहमतिको सरकारको सन्दर्भमा कुरा गर्दै लेखकले राजनीतिक अस्थिरताको मुख्य दोष प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि पन्छाउनुभयो ।

कार्यक्रममा बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टि-स्टेट प्रकरणलगायत बारेमा समेत प्रश्न गरिएको छ । कार्यक्रम फायरसाइड आज राति ९ बजे प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टीभी एपमा पनि फायरसाइड हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement