बाँके डुडुवाका ३३ परिवारलाई बर्खे झरीको मार, हावाहुरीले पाल उडाउँदा खान-बस्नै मुस्किल

न घरको ओत, न राज्यकै भर
असार १६, २०८१ |जे पाण्डे
बाँके डुडुवाका ३३ परिवारलाई बर्खे झरीको मार, हावाहुरीले पाल उडाउँदा खान-बस्नै मुस्किल

बाँके । बस्ती जलेर खरानी भएपछि उठिबास लागेका बाँकेको डुडुवा गाउँपालिका १, छिटैपुर्वा पाँझाका ३३ घर परिवारको यो बर्खामा ओत लाग्ने ठाउँसमेत नहुँदा विचल्ली भएको छ । असार ९ गते राति बस्तीमा भीषण आगलागी भएको थियो । घरबासविहीन भएपछि जिल्ला प्रशासन र रेडक्रसले दिएका दिएका पालसमेत वर्षासँगै आएको हावाहुरीले उडाइदिएपछि पीडितको विचल्ली भएको छ ।

रातभरको झरीपछि निथ्रुक्कै भिजेकी रिनाकुमारी यादवलाई सानो छोरा च्यापेर के खाने, कसरी पकाउने, कहाँ रात काट्ने भन्ने चिन्ता छ । हावाले उडाएको त्रिपाल हेरिरहेकी रिनाका पानीले भिजेका लुगा त जिउमै सुकिसकेका थिए तर आँखा ओभाएका थिएनन् । ‘राति धेरै पानी पर्‍यो । त्रिपालबाट चुहिन्थ्यो । बच्चा लिएर कहाँ बस्ने ? ठाउँ छैन । पानीले धेरै भिजायो । गरिब सम्झेर छिमेकीले दिएको कपडा ओढाएर छोरालाई जोगाएँ,’ रिनाकुमारीले भन्नुभयो ।

शुक्रबार राति वर्षासँगै आएको हुरीले च्यातिएको त्रिपालबाट पानी चुहिरहेको थियो । सुग्गादेवीसँग पनि बालबालिकालाई राख्ने ओभानो ठाउँ छैन । रेडक्रसले दिएको एउटा कम्बल थियो त्यही ओढाएर केटाकेटी जोगाउने प्रयास गर्दागर्दै त्यो पनि भिज्यो । जसोतसो शुक्रबारको रात कट्यो तर शनिबार फेरि ठूलो पानी परेकाले पीडितलाई थप सास्ती छ । ‘पानीले भिजेर बालबच्चा काँपेका थिए । वर्षामा धेरै कठिन हुन्छ जोगाउन । कहाँ जाने ? कहाँ लगेर जोगाउने आफ्ना छोरा छोरी ?,’ उहाँको भनाइ छ ।

राजेशप्रसाद यादवले जलेको घरका खम्बामा त्रिपाल कसिलो गरी बाँध्नुभएको थियो । हावाहुरीले उडाउन नसकेको उहाँको त्रिपाल पूरै च्यातिएको छ । अर्का पीडित सन्तोष यादव पनि अब खुला आकासमुनि घामपानी सहँदै दिनरात काट्नुको विकल्प नभएको दुखेसो गर्नुहुन्छ ।

‘बर्खा लागेको छ । धेरै गाह्रो भइरहेको छ । घर छाउने टिनको व्यवस्था गरिदिए हुन्थ्यो,’ अर्का पीडित राजेशप्रसाद यादवको माग छ । जलेका घरका अवशेष मात्रै बाँकी रहेको यो बस्तीमा सुरक्षा अधिकारीसहित पुगेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी र कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले कानुनी प्रक्रिया देखाएर पन्छिने प्रयास गर्नुभयो । ‘तपाईंहरुलाई सधैं प्रदेश सरकारको सहयोग रहन्छ, दुख पर्दा । पूरै नभए पनि प्रतिशतका आधारमा दु:ख बाँड्ने कोसिस गर्नेछौं,’ कृषिमन्त्री अहिरले आश्वासन दिनुभयो ।

पीडितहरुले घामपानीबाट ओत लाग्नसक्ने गरी घरबासको माग गर्दै आएको तर कसैले चासो नदिएको गुनासो गरेका छन् । ‘सक्नुहुन्छ भने तत्काल घर छाउने टिन दिनुहोस् । सक्नु हुन्न भने जवाफ दिनुहोस् । त्यो हामीलाई स्वीकार छ । बरु भैंसी, जमिन बिक्री गरेर भए पनि हामी आफ्नो व्यवस्था गर्छौं,’ अग्निपीडित पप्पुलाल यादवको भनाइ छ ।

यस्तै डुडुवा गाउँपालिका १ का वडाध्यक्ष पटेश्वर कुर्मीले सिफारिसका लागि कोही नआएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयमा गए पो सहयोगका लागि सिफारिस दिनु । आउनुहोस्, सिफारिस लैजानुहोस् भन्दा पनि कोही आउँदैनन् ।’ यहाँका पीडितहरु राहत र घरबासको व्यवस्थाका लागि राजनीतिक दलका नेताहरुको सुरु गरेको दाउपेचको मारमा परेका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।