नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउसँगै राजनीतिक तरंग

तत्कालीन गृहमन्त्रीभन्दा माथिल्लो तहको नेक्सस खोज्न झाको बयान सहयोगी हुने प्रहरीको दाबी
असार १६, २०८१ |रमेश धमला
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउसँगै राजनीतिक तरंग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिको उपल्लो तहको नेक्सस बताउन सक्ने भन्दै प्रहरीले सर्वाधिक खोजी गरिरहेका बेचन झा पक्राउ परेका छन् ।

अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरीले त्योभन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजी गर्न फाइल खुला राखेको थियो । सोहीअन्तर्गत अहिले दोस्रो चरणको अनुसन्धान थालेको प्रहरी एक वर्षपछि झालाई पक्राउ गर्न सफल भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै यसले राजनीतिक तरंग ल्याएको छ । उनी पक्राउ परेलगत्तै सत्तारुढ र विपक्षी दलका नेताहरुको घरदेखि सिंहदरबारसम्म भइरहेका पारिवारिक र अफिसियल भेटघाट यसैको तरंग भएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै राज्य संयन्त्र र मन्त्री एवं कर्मचारी मिलेर रचिएको सुनियोजित षड्यन्त्र थियो ।

गत वर्ष खुलेको यो ठूलो आपराधिक प्रकरणमा प्रहरीले गरेको अनुसन्धानले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डे सम्मलाई जेल पुर्‍यायो । खाण उच्च अदालतको आदेशले धरौटीमा रिहा भएर अहिले मुद्दा खेपिरहेका छन् भने अन्य कारगारमै छन र मुद्दा चलिरहेको छ । तर मुख्य कुरा के हो भने त्यतिबेला पक्राउ परेका व्यक्तिहरुलाई मुद्दा चलाएर जेल चलान गरिए पनि प्रहरीले फाइल भने बन्द गरेको थिएन ।

त्यही मुद्दाको दोस्रो चरणको अनुसन्धानमा प्रहरीले अहिले सर्वाधिक खोजी गरिरहेको बेचन झालाई पक्राउ गर्न सफल भएको हो । झा यस्ता व्यक्ति हुन् जसबाट गृहमन्त्री खाँडभन्दा माथिको नेक्सस खुल्न सक्ने तथ्यहरु प्रहरीसँग छ ।

बिचौलियाको योजनाअनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल गर्ने आरोपीमा मन्त्री र सचिवहरु मात्रै होइनन् भन्ने आशंका प्रहरीले पहिल्यैदेखि गर्दै आएको थियो । पहिलोपटक सुरु गरिएको नक्कली भुटानी बनाएर अमेरिका पठाउने षड्यन्त्र तत्कालीन सरकार ढलेका कारण असफल भएपछि दोस्रो चरणको प्रयासबाट बिचौलियाहरु काम फत्ते गर्न लागिपरेको प्रहरीको अघिल्लो अनुसन्धानबाटै खुलिसको छ ।

त्यतिबेला ५७ दिन अनुसन्धान गरेर पहिलो चरणको मुद्दा गत असारमा बुझाएको प्रहरी दोस्रो चरणको अनुसन्धानका लागि एक पात्रको प्रतीक्षामा थियो, जसले उपल्लो नेक्सस बताउन सक्थे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

ती हुन् अहिले पक्राउ गरेका बेचन झा । जो नक्कली भुटानी शरणार्थी मुद्दा सुरु भएको एक वर्षपछि पक्राउ परेका छन् । सबैभन्दा पहिला त, बेचनको पहिचान खुलाउन नै प्रहरीलाई हम्मे-हम्मे पर्यो । किनकि प्रहरीसँग उनको एउटा मात्रै फोटो थियो र उनी अहिले त्यही फोटोमा देखिने स्वरुपमा छन् कि छैनन् प्रहरीलाई शंका थियो । प्रहरीले अनुसन्धानबाट केचाहिँ पत्ता लगाइसकेको थियो भने, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना मन्त्रिपरिषद्‌बाट निर्णय गराउने जिम्मा लिने मुख्य व्यक्ति भने यिनै झा हुन् । किनकि यो कुरा यसै मुद्दामा अहिले कारागारमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीको बयानबाटै खुलेको थियो ।

सचिव पाण्डेले भुटानी शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रुपमा विकास गरेको बयान दिँदै, गृह मन्त्रालयमा राजनीतिक तहको सम्पर्कमा आएको व्यक्ति नै झा भएको प्रस्ट बताएका छन् । उनले झाको बयानले नै कुन तहसम्मको राजनीतिक नेक्सस हो खुल्न सक्ने पनि बताएका छन् ।

झाको संलग्नताबारे अर्का आरोपी रामशरण केसीको थप खुलासा छ । केसीले बयानमा २०७८ मंसिर १३ गते मन्त्रिपरिषद्‌बाट भुटानी शरणार्थीसम्बन्धी केही निर्णय हुने र त्यसका लागि झाले पैसा मागेको खुलासा गरेका छन् । उनले, २०७८ मंसिर ८ गते रातको ८ बजे नयाँ बानेश्वरमा झालाई भेटेर दुई करोडको चेक दिएको बयानमा उल्लेख गरेका छन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिचौलियाको परियोजनामा, भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख नामहरु हटाएर पैसा बुझाउनेहरुको नाम राखिएको थियो । हो, त्यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पास गराउने जिम्मेवारी झाले लिएको शरण केसीको बयानमा उल्लेख छ । त्यो नक्कली प्रतिवेदन मन्त्रिपरिषद्‌बाट पास गराउने तयारी गर्दै गर्दा प्रधानमन्त्री, शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

तत्कालीन गृहमन्त्री खाँणलाई मनाएर उहाँसमेत सहमत भइसकेको अवस्थामा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने सहजै सकिने भयो । तर पास गराउन प्रधानमन्त्री समेतको सहमति आवश्यक पर्ने हुन्छ । अब प्रश्न उठ्छ, मन्त्रिपरिषद् बैठकमा लगेर पारित गराउने त्यति ठूलो काम गर्ने जिम्मा झाले कसको आडमा लिए ? उनको गिरफ्तारीपछि अबको अनुसन्धान त्यसतर्फ केन्द्रित हुने प्रहरी स्रोत बताउँछ । झाले लिएको भनिएको दुई करोड उनले कसलाई बुझाए ? उनको बयानबाटै खुलाउने प्रहरीको तयारी छ ।

प्रहरीले यसअघिको मुद्दाको पूरक मुद्दाकै रुपमा संगठित अपराधमै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

तत्कालीन गृहमन्त्री र सचिवसमेत पक्राउ परिसकेको अवस्थामा प्रहरीले बेचन झामार्फत दोस्रो चरणको अनुसन्धान अगाडि बढाउन खोज्नुले पनि यो मुद्दामा उच्चस्तरीय राजनीतिक नेक्सस रहेको आशंका देखाउँछ । प्रहरी स्रोतको दाबीअनुसार, झाको बयान र अहिलेसम्मको अनुसन्धानबाट, नक्कली शरणार्थी प्रकरणमा यसअघि पनि नाम जोडिएकी आरजु राणा देउवातर्फ शंकाको सुई घुम्न सक्छ । किनभने यसअघि पनि सन्देश शर्मा नाम गरेका अर्का आरोपीले पनि आरजुकै नाम लिएर पैसा असुल गरेको अडियो बाहिर आएको थियो । जुन अडियो प्रयोगशाला परीक्षणबाटै पुष्टि भइसकेको छ ।

अहिले झा पक्राउसँगै शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको हो । प्रहरीले यसअघिको मुद्दाको पूरक मुद्दाकै रुपमा संगठित अपराधमै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । झा पक्राउपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । यसैको कडी स्वरुप आरजुले नै देउवालाई लिएर शनिबार केपी ओली निवास पुगेको प्रहरी स्रोतको दाबी छ ।

राज्य संयन्त्रमा बस्नेहरुकै योजनामा पैसा असुल गरेर सात सयभन्दा बढी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने यो अहिलेसम्मकै ठुलो घोटला हो । संगठित र राज्यविरुद्धको अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले बेचन झासँग जोडिएको राजनीतिक सम्बन्ध कहाँसम्म छ, भन्ने प्रमाणसहित खुलाउन सक्छ कि सक्दैन त्यो भने प्रतीक्षाको विषय बनेको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।