सुन तस्करीमा संलग्न चिनियाँसँग नेपाली नागरिकता र राहदानी

असार १४, २०८१ |रमेश धमला
सुन तस्करीमा संलग्न चिनियाँसँग नेपाली नागरिकता र राहदानी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्षको साउनमा भएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानले अन्तर्राष्ट्रिय आपराधिक समूह नेपालमा कसरी जरा गाडेर बसेको छ भन्ने तथ्य उजागर गर्‍यो ।

वर्षौंसम्म राजनीतिक तहसम्मको सम्बन्ध बसेको चिनियाँको समूहले सुनको अवैध भूमिगत धन्दा चलाएको सूचना नेपालका सुरक्षा निकायले पाउनै सकेनन् । सुनको अवैध कारोबार मात्रै होइन, ती चिनियाँले नेपाली नागरिकता नै लिएर प्रशासनिक संयन्त्रलाई समेत गुमराहमा पारेको खुलेको छ । जुन सामान्य विषय थिएन ।

सुन तस्करीमा लागेका विदेशीहरुले किर्ते गरी नक्कली नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र नै बनाएर नेपालमा बसिरहेको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेला पारेको छ । सीआईबीले सुन तस्करी प्रकरणमा गरिरहेको दोस्रो चरणको अनुसन्धानमा २० जना हिरासतमा छन् । तीमध्ये दुई व्यक्ति हुन्- कुगा टासी शेर्पा र सोनाम गुरुङ । उनीहरु चिनियाँ नागरिक भएको अनुसन्धानबाट खुलेको छ । तर उनीहरुसँग नेपाली नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छ ।

सीआईबीले जेठ १२ गते पक्राउ गरेका टासीको साथबाट ६ राउन्ड गोलीसहित जर्मनीमा बनेको पेस्तोल बरामद गरेको थियो । टासीकै साथबाट २७ लाख रुपैयाँसमेत बरामद भएको छ ।

योभन्दा पनि डरलाग्दो तथ्य, २०३६ सालको जन्ममिति राखेर टासीले काठमाडौंबाटै ८३७९ नम्बरको नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको साथबाट २०५८ साल साउनमा लिएको नेपाली सवारी अनुमतिपत्रसमेत बरामद भएको छ ।

अनुसन्धानका क्रममा सिचुवानबाट जारी भएको चिनियाँ राहदानी उनको साथबाट बरामद भएपछि उनी चिनियाँ नागरिक भएको खुलेको हो । सन् २०१५ मा चिनियाँ राहदानी लिएका टासीले नेपालमा भने आङनोर्बु शेर्पाको नाममा नक्कली बाबु खडा गरेर नेपाली नागरिकता लिएका हुन् । उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिने को थियो भन्ने अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

त्यस्तै सुन तस्करीकै अर्का आरोपी सोनाम गुरुङका साथबाट पनि नेपाली नागरिकता बरामद भएको छ । ६ किलो सुनसहित पक्राउ परेका सोनाम पनि चिनियाँ नागरिक भएको दाबी प्रहरीको छ । तर उनले मुस्ताङबाट ४८-०१-६९-०३४६२ नम्बरको नागरिकता लिएका छन् । नेपाली नागरिकता लिएरै सुन तस्करी गरेको तथ्यले संगठित अपराध कुन स्वरुपमा चलिरहेको छ भन्ने प्रस्ट पार्छ ।

त्यसो त यसअघि पनि ९ चिनियाँ नागरिक पक्राउ परेकामा ६ जनाको साथमा नेपाली नागरिकता र राहदानी भेटिएको थियो । चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, ली नेङकाई र लिवइन टी ले नेपाली नागरिकता र राहदानी दुवै लिएको अनुसन्धानबाट खुलेको थियो । उनीहरु पुर्पक्षका लागि थुनामा छन् । हङकङबाट ब्रेक सुमा ल्याइएको सुन तस्करीका मालिकसम्म भने प्रहरी पुग्न सकेको छैन ।

सीआईबीकै अनुसन्धानले नेपालमा राजनीतिक सम्बन्ध नै बनाएर सुनको संगठित सञ्जाल तयार पार्नु र नेपाली नागरिकता नै लिन सफल हुनु सामान्य होइन भन्ने ठहर गरेको छ । यो घटनाले आपराधिक समूहले नेपाली प्रशासनिक र सुरक्षा व्यवस्थाको समेत एक-एक सूचना लिएर बसेको प्रस्ट भएको छ ।

यो पनि...

सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका दुई छोरा : यस्तो छ कनेक्सन

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका तथ्यमाथि नै प्रश्न, कार्यान्वयन जटिल

६० किलो सुन तस्करी प्रकरण : १ खर्बभन्दा बढी रकम अनलाइनबाटै भुक्तानी, अझै सकिएन अनुसन्धान

हेर्नुहोस् रमेश धमलाका थप स्टोरी ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।