सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका दुई छोरा : यस्तो छ कनेक्सन

फाल्गुन २८, २०८० |रमेश धमला
सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका दुई छोरा : यस्तो छ कनेक्सन

काठमाडौं । मुलुकको दोस्रो सर्वोच्च पद अर्थात् उपराष्ट्रपति जस्तो व्यक्तिको जति मर्यादा हुन्छ, त्यसलाई कायम राख्न उनका पारिवारिक सदस्यको पनि उत्तिकै भूमिका रहन्छ । तर दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुनलाई भने छोराहरुको गतिविधिले नै विवादमा तानेको छ । चिनियाँ सुन तस्करीका आरोपीसँग नन्दबहादुर पुनका दुवै छोरा मुछिएका हुन् ।

एक छोरा जितेन्द्रले सुन कारोबारका लागि सम्झौता नै गरेको भिडियो कान्तिपुर टेलिभिजनले सार्वजनिक गरिसक्यो भने अर्का छोरा दिपेश पुनले तस्करीका नाइकेलाई पारिवारिक सदस्य रुपमा उपराष्ट्रपतिको पहुँचमा पुर्‍याएका थिए । सुन काण्डका मुख्य आरोपी चिनियाँ मूलका दावा छिरिङ जेल पुग्दा पुनका छोराहरु भने राजनीतिक संरक्षणकै कारण जोगिँदै आएका छन् ।

सुन तस्करीमा संलग्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ । उपराष्ट्रपति छोरा जितेन्द्र पुनले चिनियाँ तस्करसँग सुन कारोबारका लागि सम्झौता गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानमा तिब्रता दिएको हो । उनी केही दिन अघि मात्रै नेपाल आएको अध्यागमनको रेकर्डमा देखिन्छ ।

जितेन्द्र जोडिएको सुन तस्करको सन्जाल र दिपेश पुन निकट रहेका दावा छिरिङको समूह एउटै हो कि होइन ? भन्ने तथ्य प्रहरीले खोज्ने भएको हो । त्यसका लागि अहिले कारागारमा रहेका चिनियाँहरुको पुन: बयान लिनुपर्ने छ । जितेन्द्रले ल्याएको सुन कहाँ बिक्री भयो ? उसको समूहमा अन्य को–को छन् भन्ने पत्ता लगाउनुपर्ने छ ।

त्यसो त जितेन्द्रले सुन ठगी गरेको भन्दै चिनियाँ अदालतमै परेको मुद्धामा दोषी ठहर भएको तथ्य कान्तिपुर दैनिकले सोमबार नै सार्वजनिक गरिसकेको छ । दिपेश र जितेन्द्रकै कारण सुन माफियाले नेपालका राज्य संयन्त्रमा प्रभाव पारेका थिए । यतिसम्म कि सुन तस्करीमा मुछिएका ६ जना चिनियाँले नेपाली नागरिकता नै बनाएको तथ्य अनुसन्धानबाटै खुलिसकेको छ ।

गत साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करीमा ९ विदेशी पक्राउ परे । जसमा अधिकांश चिनियाँ र चिनियाँ मूलका थिए । चिनियाँ मुलका वेल्जियन नागरिक दावा छिरिङ नेपालमा बसेर सुन तस्करीको अड्डा चलाउने मध्येका हुन् । जसले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसम्म पहुँच बनाए । देशको दोस्रो सर्वोच्च पदमा बसेका व्यक्तिसम्म पुग्न दावाले छोरा दिपेशलाई साथमा लिएका थिए ।

दावा करिब १० वर्षदेखि नेपालमै बस्दै आएका थिए । दावाले दिपेश पुनमार्फत् उपराष्ट्रपतिसम्म पहुँच मात्रै बनाएनन् । रोल्पाकी अमला रोक्कासँग विवाहसमेत गरे । अमलाकै नाममा ठमेलमा होटल भिअन्ना समेत खोले । तिनै अमला अहिले सुन तस्करी काण्डमै फरार भएर इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी भैसकेको छ । माओवादी निकट स्रोतका अनुसार दावा पक्राउ परेपछि पनि अमला पूर्वराष्ट्रपति पुनकै निवासमा देखिएकी थिइन् । प्रतिवादी बनाएर अदालतमा मुद्धा दायर भएसँगै उनी फरार छिन् ।

तर दावाको सबैभन्दा निकट मानिएका दिपेश अनुसन्धानको घेरामा परे पनि सामान्य सोधपुछबाटै उम्किएका छन ।राजनीतिक साथ नपाएपछि प्रहरीले उनलाई कारवाही गर्नुपर्ने आधार फेला पारे पनि मोबाइल फालेर प्रमाण जुटाउन कठिन भएको भन्दै मुद्धामा लैजान सकेन ।

त्यही समूहसँग मिलेर विद्युतीय चुरोटबाट ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका कृष्णबहादुर महराका छोरा राहुल भने पूर्पक्षका लागि थुनामा छन् । उपराष्ट्रपतिका छोरासँगै निकट सम्बन्ध बनाउने दावाले २०७४ साल पुसमै काभ्रेबाट नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

६० किलो सुन तस्करी प्रकरणमा सिआइबीले एक चरणको मुद्धा बुझाए पनि माओवादी निकट नेताहरुसँग सम्बन्ध भएका दिपेश पुन कारवाहीमा पर्न सकेका छैनन् भने, अर्का नेता जीवन चलाउने फरार छन् । त्यसपछि थप अनुसन्धान अगाडि बढ्न सकेको छैन । उपराष्ट्रपति जस्तो पदको चरम दुरुपयोगको घटना अनुसन्धानमा सरकार र अझ गृहमन्त्रीले कसरी साथ दिन्छन् परीक्षाको विषय बनेको छ । 


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।