थमन विक हत्याका दोषी कौशलकुमार यादव पक्राउ

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
थमन विक हत्याका दोषी कौशलकुमार यादव पक्राउ

महोत्तरी । महोत्तरीमा आठ वर्षअघि मारिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय पाएका प्रदेशका पूर्वसांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा पक्राउ परेका यादवसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

फरार रहेका यादवको शनिबार गाउँपालिका ५, पोखरीभण्डामा सवारीसाधन दुर्घटना भएको थियो । दुर्घटनापछि सोधपुछ गर्दा यादव फरार प्रतिवादी रहेका खुलेको र उनलाइ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता (डीएसपी) सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।

उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नम्बर ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । २०७९ चुनावमा लोसपाबाट चुनाव लडेका यादवलाई हार बेहोर्नुपरेको थियो ।

अदालतले लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । २८ मंसिरमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई पनि सफाइ दिएको थियो भने अदालतले प्रदेशसभा सदस्य अभिराम शर्मा, प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाएको थियो ।

कोइरीसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनी मुद्दा २०७२ फागुन २७ गते जिल्ला अदालत महोत्तरीमा दर्ता भएको थियो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको निर्घात कुटपिटबाट सख्त घाइते सशस्त्र प्रहरीका असई विकलाई अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । हत्यालगत्तै उनकी पत्नी शोभा विकले किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.