६० किलो सुन तस्करी प्रकरण : १ खर्बभन्दा बढी रकम अनलाइनबाटै भुक्तानी, अझै सकिएन अनुसन्धान

असार १२, २०८१ |रमेश धमला
६० किलो सुन तस्करी प्रकरण : १ खर्बभन्दा बढी रकम अनलाइनबाटै भुक्तानी, अझै सकिएन अनुसन्धान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउनमा बाहिरिएपछि बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान अझै सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान गरिरहेको हो । सीआईबीको दोस्रो चरणको अनुसन्धानले सुन तस्करीको भुक्तानीका लागि अनलाइन सेवा प्रदायक कम्पनीबाट एक खर्बभन्दा बढीको कारोबार भएको खुलेको छ ।

गत वर्ष साउन २ गते ब्रेक सुमार्फत ल्याइएको ६० किलो सुन बरामदले नेपालमा चलिरहेको सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालसम्बन्धी डरलाग्दो तथ्य बाहिर आयो । विशेषगरी चिनियाँ समूहले नेपालमै बसेर हङकङ र दुबईबाट एक साथ सुन ल्याउने गरेको खुलेको थियो ।

त्यही घटनाको पहिलो चरणमा २९ जना पक्राउ गरेको सीआईबीले दोस्रो चरणको अनुसन्धान जारी राखेको छ । पहिलो चरणको अनुसन्धानबाट नेपालबाट ३९० किलो सुन तस्करी भएको खुले पनि त्यसको पैसा कहााबाट कसरी बाहिरिएको थियो भन्ने खुलेको थिएन । तर दोस्रो चरणको अनुसन्धानमा सीआईबीले अनलाइन भुक्तानी सेवा कम्पनीहरु प्रयोग भएको खुलाएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा अहिले २० आरोपी छन् । तीमध्ये ६ जना अनलाइन भुक्तानी सेवा कम्पनी ‘पे-वेल’ र ‘सजिलो पे’ का सञ्चालक हुन् । सीआईबीका अनुसार सुन तस्करीमा संलग्न आरोपीले ती अनलाइनबाट अस्वाभाविक कारोबार गरेको देखिएको छ ।

पे-वेलका भीमप्रसाद तिमल्सिना, सुरजशमशेर जबरासहितका सञ्चालक पक्राउ परेका छन् । पे-वेलमार्फत एक वर्ष अगाडिसम्म वार्षिक ११ अर्ब रुपैयाँसम्मको मात्रै कारोबार गरेको देखिएको छ भने २०८० वैशाख १२ गतेदेखि हालसम्म त्यो ८ गुणाले बढेको देखिन्छ । बितेको एक वर्षमा पे-वेलबाट ८६ अर्ब १७ करोडको कारोबार भएको र त्यो शंकास्पद देखिएको सीआईबीले जनाएको छ ।

त्यसो त सजिलो पेको कारोबार पनि त्यति स्वाभाविक देखिएको छैन । सीआईबीले सजिलो पेको २०७८ जेठ २ गतेदेखिको कारोबार हेर्दा ३६ अर्ब देखिएको छ । जुन त्यसअघि एक डेढ अर्बमा मात्रै सीमित थियो । दुवै कम्पनीबाट एक खर्ब २२ अर्ब ७१ करोडको कारोबार भएको सीआईबीको दाबी छ ।

अनलाइन भुक्तानी सेवाका सञ्चालक कसरी सुनमा जोडिए भन्ने प्रश्न पनि हुन सक्छ । नेपाल भित्रिएको सुनको भुक्तानी अस्ट्रेलिया र कोरियाबाट क्रिप्टो करेन्सीमा भएको अनुसन्धानबाट खुलेको छ । अस्ट्रेलिया र कोरियामा रहेका नेपालीको रकम त्यहीँको सेन्ड मनीमा जम्मा गर्ने र यता नेपालमा रहेका आफन्तले भने सजिलो-पे र पे-वेलमार्फत पाउने गरेका थिए ।

उता अस्ट्रेलिया र कोरियाबाट सेन्ड मनीले त्यही क्रिप्टोमार्फत चीनमा सुनको भुक्तानी दिने गरेको सीआईबीको अनुसन्धानले देखाएको हो । दुई कम्पनीले २१ वटा बैंकमा खाता खोलेका छन् । सुनको भुक्तानी क्रिप्टोबाट भइरहेको खुले पनि त्यो पैसा अनलाइन पे-मार्फत पठाउने गरेको तथ्य सुन तस्करीकै आरोपी भारतीय नागरिक अशोक गायकवाड पक्राउपछि खुलेको हो ।

सुन तस्करले अनलाइन भुक्तानी कम्पनीमार्फत शंकास्पद कारोबार गरेको विषय बैंकहरुले समेत लुकाउने गरेको आशंका छ । सुन तस्करीको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको सीआईबीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ । ब्रेक सु र अन्य सामानमा राखेर पाँच वर्षमा ३१ सय ९४ किलो सुन नेपाल भित्रिएको निष्कर्ष सीआईबीको छ । जसमा ७२ जना संलग्न रहेको खुले पनि ४९ जना मात्रै पक्राउ परेका छन् ।

हेर्नुहोस् रमेश धमलाका थप स्टोरी ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement