सर्लाही । ‘बाल यौन शोषण’ अभियोगमा तपस्बी भनेर चिनिने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले सोमबार दोषी ठहर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनले कसुर गरेको ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी वकिल कार्यालयले पेस गरेको अभियोजनअनुरुप बम्जन दोषी ठहरिएका हुन् ।
बम्जनलाई कति सजाय हुने भन्ने विस्तृत फैसला भने असार १७ गते आउनेछ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन महोत्तरी कारागार जलेश्वरमा छन् । यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौनशोषण अभियोगमा पुर्पक्षमा रहेका बम्जन निर्दोष रहेको दाबीसहित सोमबारको इजलासमा वरिष्ठ अधिवक्ता सीताराम केसी एवं अधिवक्ताहरु राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलीप झाले बहस गर्नुभएको थियो ।
अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । यसअघि ३ पटकसम्म बम्जन विरुद्धको मुद्दा पेसी चढे पनि उनका वकिलहरुले २ तथा सरकारी वकिलले १ चोटी निवेदन दिएर सारेका थिए ।
सर्लाही जिल्ला अदालतले २०७७ असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बूढानीलकण्ठबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।