यी हुन् कार्यकाल पूरा नगर्ने मुख्यसचिव !

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
यी हुन् कार्यकाल पूरा नगर्ने मुख्यसचिव !

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगै वैकुण्ठ अर्याल मुख्यसचिवबाट स्वतः निलम्बित हुनुभएको छ । सचिवबाट अवकाश पाउन तीन दिन बाँकी रहँदा २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त अर्याल भ्रष्टाचार मुद्दाका कारण पदबाट हट्ने पहिलो मुख्यसचिव हुनुहुन्छ । कर्मचारी प्रशासनको सबैभन्दा माथिल्लो पद मुख्यसचिव बन्ने, बनाउने र त्यसपछिको जिम्मेवारी सुनिश्चित गर्ने दाउमा अर्यालभन्दा अगाडि ३ मुख्यसचिवले कार्यकाल पूरा गरेका थिएनन् ।

कार्यकाल सकिनै तीन दिन बाँकी रहँदा अर्याललाई मुख्यसचिवमा बढुवा गरिएको थियो । २०४९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका अर्यालले मुख्यसचिव नियुक्त नभएको भए २०८० असार २ मा अवकाश पाउनुहुन्थ्यो । अर्याल भ्रष्टाचार मुद्दाका कारण पद त्याग्नुपर्ने स्थितिमा पुगे पनि कार्यकाल नसकिँदै सरकारले राजीनामा गराएका मुख्यसचिवको सूची भने लामो छ ।

मुख्यसचिव शंकरदास बैरागीलाई उहाँको तीनवर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी छँदै सरकारले राजीनामा गर्न लगाएको थियो । सुरक्षा सल्लाहकार बनाउने सर्तमा बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो ।

कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा भने सोमलाल सुवेदीले सुरु गर्नुभएको थियो । एसियाली विकास बैंकको वैकल्पिक सल्लाहकारको जागिर खान सुवेदी मुख्यसचिवबाट राजीनामा दिएर फिलिपिन्स जानुभएको थियो ।

पूरा कार्यकाल काम गर्न नदिई सरकारले राजीनामा गराएका अर्का मुख्यसचिव हुनुहुन्छ- लोकदर्शन रेग्मी । रेग्मीलाई बेलायतको राजदूत बनाउन सरकारले राजीनामा दिन लगाएको थियो । रेग्मी उनै व्यक्ति हुनुहुन्छ- जसलाई सरकारले अहिले भारतका लागि राजदूतमा सिफारिस गरेको छ । रेग्मीपछि मुख्यसचिव हुनुभएको थियो- शंकरदास बैरागी । रेग्मीले कार्यकाल पूरा गरेको अवस्थामा बैरागी मुख्यसचिव बन्नुहुने थिएन । बैरागीले उमेर हदका कारण सचिवबाटै अवकाश पाउनुहुन्थ्यो ।

मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ । तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन- २०४९ मा छ । तर यी चारैजना मुख्यसचिवले कार्यकाल पूरा गरेनन् ।

यो पनि...

भ्रष्टाचार मुद्दामा मुख्यसचिव वैकुण्ठ अर्यालसहित बहालवाला को-को परे ?

भ्रष्टाचार मुद्दा दायरसँगै मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.