भ्रष्टाचार मुद्दामा मुख्यसचिव वैकुण्ठ अर्यालसहित बहालवाला को-को परे ?

असार ९, २०८१ |रमेश धमला
भ्रष्टाचार मुद्दामा मुख्यसचिव वैकुण्ठ अर्यालसहित बहालवाला को-को परे ?

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुमाथि अख्तियारले सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अभियोगमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त प्रकरणमा अर्यालसहित ११ जना र प्रिन्ट सेल कम्पनीलाई दोषी किटान गरी मुद्दा चलाउने निर्णय अख्तियारले गरेको हो । यस प्रकरणमा सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । 

यस अघि नै भ्रष्टाचार मुद्दामा परी सकेका विकल पौडेल, सफल श्रेष्ठ, हरिवल्लभ घिमिरे र विष्णु गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । २०७९ मङ्सिर २६ मा ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल प्रालि र सेन्टरबीच सम्झौता भएको थियो ।

त्यसअनुसार सम्झौता भएको स्टिकर छपाइको लागत ३८ करोड ५५ लाख ४८ हजार रुपैयाँ हुन आउँछ । जबकि त्यसअघि यस्तै स्टिकर प्रतिथान अधिकतम २५ पैसाले छपाइ गर्दा ती स्टिकरको लागत १० करोड ८३ लाख मात्र पर्ने देखिन्छ । तर त्योभन्दा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता कायम गरिएको छ ।

प्रिन्टसेलले स्टिकरको कागज र मसी मात्र खरिद गर्ने सम्झौता भएको थियो । बाँकी छपाइको काम सेन्टरबाटै हुने भनिएको सम्झौतामा ‘अस्वाभाविक मूल्य’ कायम गरेर प्रिन्टसेललाई ठेक्का दिइएको थियो । अग्रिम भुक्तानीबापत ५ करोड रुपैयाँ पेस्की दिइएको थियो ।

त्यसबेला सञ्चार सचिवमा हालका मुख्यसचिव अर्याल र सेन्टरको कार्यकारी निर्देशक विकल पौडेल थिए । सुरक्षण मुद्रण विकास समिति अध्यक्ष सञ्चार सचिव रहने व्यवस्था छ ।

अर्याल र पौडेलसहितका अधिकारीको निर्णयले स्टिकर खरिदको ठेक्का लगाइएको थियो । अर्याल २०७८ साउन २५ देखि २०७९ चैत १४ सम्म सञ्चार सचिव थिए । सञ्चारबाट प्रधानमन्त्री कार्यालय सरुवा भएका अर्याल अवकाशको तीन दिनअघि जेठ ३२ मा मुख्यसचिव बनेका थिए ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।