बजेट सत्ता गठबन्धनका शीर्ष नेताकै जिल्लामा केन्द्रित गरिएको भन्दै सांसदहरूको आपत्ति

असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेट सत्ता गठबन्धनका शीर्ष नेताकै जिल्लामा केन्द्रित गरिएको भन्दै सांसदहरूको आपत्ति

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरुको जिल्लामा केन्द्रीत गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले बजेट सीमित नेताहरुका जिल्ला केन्द्रीत गरिएकाले बहिस्कार गर्नेसम्मको चेतावनी दिएका हुन् । संसद्को विशेष समयमा कांग्रेसका सांसद हृदयराम थानी र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशको पूर्वाधारका लागि बजेट न्यून विनियोजन भएको गुनासो गर्नुभयो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त असन्तुलित बजेटको बहिस्कार गर्ने घोषणा नै गर्नुभयो ।

बैठकमा सांसदहरुले खच्चड अड्किएको कर्णाली नदीमाथिको पुल मर्मत नहुँदा विद्यार्थी विद्यालय जानै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै सांसदहरुले सामाजिक सुरक्षा भक्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अपांगता भएका र ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेकाले त्यसलाई सहज बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा अहिले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, परराष्ट्र र भौतिक पूर्वाधार मन्त्रालयका लागि छुट्याइएको बजेटमा छलफल चलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.