छातीमा राज्यको पदक, हातमा छैन नागरिकता

असार १८, २०८३ |कृपाल गौतम
छातीमा राज्यको पदक, हातमा छैन नागरिकता

काठमाडौं । अधिकार र पहिचानका लागि कतिवटा पुस्ताले संघर्ष गर्नुपर्छ ? सीमाको रक्षा गर्न खटिएका सीमावर्ती सुस्ताबासीको कथा हेरे पुग्छ।

नवलपरासीको सुस्ताबासीले पुस्तौंदेखि खेती गर्दै आएको जमिनको स्वामित्व, नागरिकता र सुरक्षाका लागि दशकौंदेखि संघर्ष गर्दै आएका छन्। तर पु्स्तौंपुस्ताको जीवन बितिरहँदा उनीहरु अझै पनि आधारभूत अधिकारबाट बञ्चित भइरहेका छन् । पटक-पटक काठमाडौं धाउँदा सरकारी आश्वासनबाहेक केही नपाएका उनीहरु फेरि सुस्ताको माटो बोकेर माटोकै रक्षाका लागि काठमाडौं आएका छन् । तर राज्यले सुस्ताबासीको आवाज कहिले सुन्छ, टुङ्गो छैन ।

हामी काठमाडौंको गौशाला धर्मशाला पुग्दा भुइँ तलामा केही गफिँदै थिए भने कोही खाना पकाउन व्यस्त थिए । पहिलो तलामा पुग्दा एक कुनामा भेटिनुभयो सुस्ता बचाउ अभियानका सल्लाहकार मुन्ना खाँ । उमेरले ८१ वर्ष पुगिसक्नुभएका खाँले आफ्नो माटो अर्थात सुस्ता बचाउनका लागि राज्यसँग हारगुहार र संघर्ष गरेको दशकौं भयो । भारतीय सुरक्षाकर्मीको दमन रोक्न प्रतिकार गर्दा उहाँले २०४० सालमा ६ वटा गोलीसमेत खानुभयो । सीमा रक्षाका लागि घाइते भएपछि तत्कालीन सरकारले काठमाडौंसम्म ल्याएर उहाँको उपचार गरायो । २०४० सालदेखि राजा विरेन्द्र र राज्यले उहाँलाई पटक पटक सम्मान गर्यो । भारतीय नागरिक बन्न गरिएको प्रस्ताव नकार्दै सगौरव नेपाली भएर बाँच्छु भनेर उहाँले सुस्तामा सशस्त्र प्रहरीलाई चौकी राख्न १ विघाभन्दा बढी जग्गासमेत उपलब्ध गराउनुभयो । उहाँकै पहलमा नेपाल प्रहरीका लागि पनि थप एक विघा जग्गा उपलब्ध भयो, तर उहाँ आफैं भने अझै नागरिकताबाट वञ्चित हुनुहुन्छ ।

खाँ मात्र नभइ उहाँका बुवालाई समेत २०३७ सालमा पक्राउ गरी एक वर्ष कैद गरियो । अर्थात यो लडाइँ उहाँ आफ्नोमात्र नभइ बुवाकोसमेत थियो। अब मुन्ना खाँ'का साथमा हुनुहुन्छ २७ वर्षीय छोरा बाबु खाँ ।

नवलपरासी पश्चिमको सुस्ता क्षेत्र दशकौँदेखि नेपाली भूमि अतिक्रमणको चपेटामा पर्दै आएको छ । आफ्नो थातथलो र देशको सिमाना जोगाउन अहोरात्र खटिएका सुस्ताबासीले राज्यबाट पाउनुपर्ने न्यूनतम अधिकारसमेत नपाएपछि उनीहरुले सुस्ता बचाऊ अभियानमार्फत पटक-पटक काठमाडौँ आएर दबाबमूलक आन्दोलन गर्दै आएका छन् । यो उनीहरुको अधिकारकै लागि नवौँपटक काठमाडौं भ्रमण हो । वर्षौँदेखि जोतभोग गर्दै आएको जमिनको स्थायी लालपुर्जा नहुनु र सुस्तामा जन्मिएर पनि अनागरिकको रुपमा बाँच्नुपर्ने उनीहरुको साझा बाध्यता छ । त्यति मात्र होइन आफ्नो मुलुकको सीमा सुरक्षा अहिले उनीहरुको मुख्य समस्या हो । मुन्ना र बाबु मात्र हैन ५२ जना सुस्ताबासी काठमाडौंलाई सीमाको सुरक्षा गर्दा अनागरिक भएर बाँच्नुपर्ने पीडा सुनाउन फेरि आइपुगेका छन् । उनीहरु भन्छन्– जबसम्म अधिकार पाउँदैनौ, तबसम्म घर फर्कन्नौं ।

सुस्ताबासीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखे । सरकारसँग उनीहरुको अनौपचारिक रुपमा कुराकानी भने भइरहेको छ । आफूहरूलाई सिमाना कुर्न बसेका सच्चा सिपाही दाबी गर्ने सुस्ताबासीको यो आन्दोलन केवल व्यक्तिगत मागका लागि मात्र नभएर देशकै भौगोलिक अखण्डता रक्षाका लागि भएको प्रयास हो । 


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।