केन्द्रीय आयुर्वेद विद्यापिठमा अनिश्चितकालीन तालाबन्दी

असार २, २०८१ |अमर क्षितिज भण्डारी
केन्द्रीय आयुर्वेद विद्यापिठमा अनिश्चितकालीन तालाबन्दी

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुन्डीमा त्यहाँ अध्ययनरत विद्यार्थी संगठनले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयमा अध्यापन गराउँदै आएका दुई विज्ञ शिक्षकलाई राजनीतिक आस्थाका आधारमा हटाउन लागिएको भन्दै कुलसचिव माधव अधिकारीको कुर्सी जलाएका छन् । विद्यार्थीहरुले अधिकारीको पुतलासमेत दहन गरेका छन् ।

शिक्षक अभाव भइरहेको समयमा पठनपाठन प्रभावित हुनेगरी वैकल्पिक शिक्षकको व्यवस्था नगरी राजनीतिक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको विरोधमा चारबुँदे माग राख्दै विद्यार्थीहरुले तालाबन्दीसँगै पुतला दहन गरेका हुन् ।

आयुर्वेदको एउटा विभागमा चारजना विज्ञशिक्षक हुनुपर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड भए पनि अहिले दुईजना मात्रै शिक्षकले अध्यापन गराइरहेका छन् । ५० बढी शिक्षक हुनुपर्ने केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुन्डीमा अहिले २० जना मात्रै कार्यरत छन् ।

विद्यापिठमा कार्यरत करार शिक्षकहरु आयुर्वेद शल्यचिकित्सक मदन भण्डारी र रसशास्त्रविज्ञ अमित कर्णलाई असारदेखि हाजिरी नगराउने भनेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

विद्यापिठमा दुई सय बढी विद्यार्थीले आयुर्वेद स्नातक अध्ययन गरिरहेका छन् । विद्यार्थी संख्या उल्लेख्य भए पनि शिक्षक व्यवस्थापन गर्न र पठनपाठनलाई गुणस्तरीय बनाउन विश्वविद्यालयले कुनै चासो नदिएको नेपाल विद्यार्थी संघका सभापति वसन्त अधिकारीको आरोप छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।