राजदूत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री दाहाल

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजदूत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताउनुभएको हो ।

उहाँले राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको बताउनु भयो । उहाँले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताउनु भयो । उहाँले राजदूत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताउनु भयो ।

'राजदूत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो,' उहाँले भन्नुभयो, 'ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरुमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो । मैले त्यतिखेर नेपाली कांग्रेसका सभापतिलाई भनेको थिए- तपाईंले योग्य मान्छे दिनुपर्‍यो । अहिले पनि मैले योग्य मान्छे दिनुपर्‍यो । मेरिटको आधारमा दिनुपर्‍यो भनेको हो । अब कति मेरिटमा परे, परेनन् । कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदि त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ ।'

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरुलाई तिन महिना काम गर्न दिएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement