नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा जारी

सीमा व्यवस्थापन, सीमापार व्यापार र चिनियाँ लगानीका परियोजना मुख्य एजेन्डा
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा जारी

काठमाडौं । नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा बसिरहेको छ । बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व उपविदेशमन्त्री सुन वेइदोङले गर्नु भएको छ ।

बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकका लागि नेपालले चिनियाँ सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ । सीमापार २ सय २० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

बैठक आजै सकिने छ । संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो । बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री सुन हिजो नै काठमाडौं आइसक्नु भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसँग भोलि शिष्टाचार भेट गरी चिनियाँ उपविदेशमन्त्री सुन भोलि नै चीन फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement