सल्यान । पछिल्लो समय सल्यानमा हत्यालगायत विभिन्न आपराधिक घटना बढ्न थालेका छन् । अधिकांश घटनामा परिवार, आफन्त र चिनेजानेकै व्यक्ति संलग्न रहेको र महिला तथा बालबालिका बढी पीडित भएको देखिएको छ । बालविवाह, कमजोर आर्थिक अवस्था, मदिरा सेवन, जनचेतनाको कमी र मानसिक रोग यस्ता घटनामा मुख्य कारक देखिएका छन् ।
सल्यानको वनगाड कुपिन्डे नगरपालिका ४, देउलीका ३४ वर्षीय मनोज बुढाले गत वैशाख ३० गते ३२ वर्षीया पत्नी कमला बुढाको सुतिरहेको अवस्थामा हत्या गरे । हत्यालगत्तै उनले पनि झुन्डिएर आत्महत्या गरे । उनी एक वर्षदेखि मानसिक बिरामी थिए । यस्तै जेठ १ गते सिद्धकुमाख गाउँपालिका ४, सागिनेका ३२ वर्षीय केशव रानाले पनि १३ दिने सुत्केरी श्रीमतीको हत्यापछि आत्महत्या गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने र त्यसकै आवेगमा हत्यापछि आत्महत्या गरेका हुन् ।
सल्यानको त्रिवेणी गाउँपालिका २ मा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरीको ३० भदौ २०८० मा चिनेकै व्यक्तिबाट हत्या भयो । २०७९ माघ १ गते वनगाड कुपिन्डे नगरपालिका १०, माझकाँडाका २८ वर्षीय डम्बरबहादुर पुरीले ‘आफूलाई देउता चढेको’ भन्दै आफ्नै ८ वर्षीय भान्जा भिजन घर्तीको घरनजिकै रहेको मन्दिरमा लगेर हत्या गरे । उनी पनि मानसिक बिरामी रहेको बताइएको छ ।
जिल्लामा जति पनि हिंसाका घटना भएका छन्, ती गरिबी, अशिक्षा, अत्यधिक मादक पदार्थ सेवन तथा मानसिक समस्याका कारण हुने गरेको पाइएको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत बताउनुहुन्छ ।
सल्यानमा तीन वर्षको अवधिमा १९८ वटा आपराधिक घटना भएका छन् । अधिकांशमा महिला र बालबालिका पीडित भएको जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांकले देखाएको छ । २०८० साउनदेखि हालसम्म ६१ वटा घटना भएका छन् । यस अवधिमा १० जनाको हत्या भएको छ ।
जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका २०, बहुविवाहका ११ तथा बालबालिका आत्महत्याका १६ घटना भएका छन् । कतिपय घटनामा बालबालिकाले आफ्नै आँखाअगाडि हत्या देखेका छन् । यसले उनीहरुको मनोविज्ञानमा गहिरो प्रभाव पार्ने डा. अभिषेक सिंह बताउनुहुन्छ ।
तीनै तहका सरकारले भौतिक पूर्वाधारलाई मात्र जोड दिएको पाइन्छ । तर, समाजमा किन यस्ता घटना बढ्दै गएका छन्, यसको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा भने ध्यान दिएको पाइँदैन । त्यसैले सरकारले यस्ता घटना न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न जरुरी देखिएको छ ।
यो पनि...
देशभरका कारागारमा ३० हजार कैदीबन्दी, जघन्य अपराधका कसुरदार धेरै