मोरङको ग्रामथानमा बढ्यो उपनिर्वाचनको सरगर्मी

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोरङको ग्रामथानमा बढ्यो उपनिर्वाचनको सरगर्मी

विराटनगर । मतदानको मिति नजिकिएसँगै मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी बढेको छ । आफ्नो पक्षमा मत पार्न यतिबेला उम्मेदवारहरू मतदातालाई रिझाउन लागि परेका छन् । मतदाताहरूले भने उम्मेदवारसँग समयमै कृषि मल, बिउको व्यवस्थाको ग्यारेन्टीदेखि सडक निर्माण, खानेपानी, रोजगारीको अपेक्षा राखेका छन् ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचन नजिकिएसँगै मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन् । एक स्वतन्त्रसहित १६ जना उम्मेदवार विभिन्न वाचा गरेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

विराटनगर महानगरसँगै जोडिएको पालिका भए पनि शिक्षा, स्वास्थ्य, विकास निर्माणमा पछि परेको यो गाउँपालिकाका अधिकांश नागरिक कृषि पेसा गर्छन् । मतदाताहरुले भने उम्मेदवारहरुसँग समयमै मल, उन्नत जातको बिउ, सिँचाइको व्यवस्था गर्न, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानीको उचित व्यवस्थाको अपेक्षा गरेका छन् ।

महिला मतदाता भने सडक बत्ती नभएकाले हिंसाका घटना भइरहेको भन्दै सडक बत्तीको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले महिलाहरुका लागि सिपमूलक कार्यक्रम ल्याउने जनप्रतिनिधि चुनियोस् भने अपेक्षा पनि गरेका छन् ।

ग्रामथान गाउँपालिकाका स्वतन्त्र उम्मेदवारले दलहरुप्रति वितृष्णा बढेको दाबी गर्दै स्वतन्त्रले जितेका स्थानीय तहमा राम्रो काम भएकाले आफूलाई मतदाताले विश्वास गर्ने आशा व्यक्त गरेका छन् । दलीय उम्मेदवारहरुले भने कृषि, शिक्षा, पूर्वाधार, सुशासनदेखि लिएर भ्रष्टाचार निवारण गर्ने प्रतिवद्धता गर्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । सात वडामा विभाजित यो गाउँपालिकाकामा १२ वटा मतदान स्थल र २९ वटा मतदान केन्द्र छन् ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement