देशभरका कारागारमा ३० हजार कैदीबन्दी, जघन्य अपराधका कसुरदार धेरै

जेष्ठ ११, २०८१ |रमेश धमला
देशभरका कारागारमा ३० हजार कैदीबन्दी, जघन्य अपराधका कसुरदार धेरै

काठमाडौं । देशमा दैनिकजसो कुनै न कुनै प्रकृतिका आपराधिक घटना भइरहेका हुन्छन् । शान्ति सुरक्षासँग जोडिने सामान्य प्रकृतिका घटना स्वभाविक हुन सक्छ । तर, कारागारमा थुनिएका कैदीबन्दीको संख्या र उनीहरुले गरेका अपराध हेर्ने हो भने नेपाली समाजमा जघन्य अपराधले जरा गाडेको देखाउँछन् । देशैभरका कारागारमा झन्डै ३० हजार कैदीबन्दी रहेकामा सबैभन्दा धेरै जघन्य अपराधका कसुरदार छन् ।

नेपालका जेलमा रहेकामध्ये सबैभन्दा धेरै जबरजस्ती करणीका अभियुक्त छन् । जघन्य प्रकृतिका अपराध गर्नेहरुको संख्याले कारागार भरिएको सरकारकै तथ्यांकले देखाएको छ । प्रहरी तथा अन्य कानुन कार्यान्वयन गर्ने निकायबाट सजायको दायरामा आएकाहरुमध्ये २८ हजार ३८१ जना थुनिएका छन् । जबकि देशभरका ७४ वटा कारगारको क्षमता भने १६ हजारको मात्रै छ ।

थुनामा रहेका कैदीबन्दीमध्ये २६ हजार पुरुष र १६ सय महिला छन् । त्यस्तै एक हजार चार सय १२ विदेशी विभिन्न अपराधको कसुरमा कारागारभित्र छन् । ६५ वर्ष उमेर कटेकाहरु ६ सय एक जनाले अहिले जेलजीवन बिताइरहेका छन् ।

यी कैदीबन्दीमध्ये सबैभन्दा धेरै जबरजस्ती करणीका अभियुक्त रहेको डरलाग्दो तथ्यांक छ । कारागार व्यवस्था विभागको तथ्यांकअनुसार २८ हजार कैदीबन्दीमध्ये सबैभन्दा धेरै सात हजार चार सयजना जबरजस्ती करणीका अभियुक्त हुन् । त्यस्तै दोस्रो नम्बर लागुऔषध मुद्दाका पाँच हजार सात सय १७ कसुरदार छन् भने हत्या अभियोगमा ४३ सय जना कारगारमा छन् । जघन्य अपराधका कसुरदार कारागारमा बढ्नु सुरक्षाका हिसाबले पनि जोखिम रहेको कारागार व्यवस्था विभागका निर्देशक कमल पाण्डे बताउनुहुन्छ ।

कारागारमा रहेकामध्ये १६ हजार सजाय तोकिएका कैदी छन् । करिब १२ हजार मुद्दाको अन्तिम किनारा नलागेका आरोपी हुन् । जघन्य प्रकृतिका अपराधमा संलग्नहरुको न्यायिक प्रक्रियासमेत ढिलो हुँदा दोषी अथवा निर्दोष थाहा नपाइ पनि आरोपीहरु कारागारमा बस्न बाध्य भएका हुन् । सरकारले एक वर्षभन्दा बढी कैद सजाय तोकिएर दुईतिहाइ सजाय भुक्तान गरेका आरोपीहरुले घरमै बसेर बाँकी कैद भुक्तान गर्न सकिने प्यारोल व्यवस्था ल्याएको छ । तर यस्तो सुविधा चार सय जनाले मात्रै पाएको निर्देशक पाण्डेको भनाइ छ ।

अपराधका दोषीले सजाय पाउनु सुशासन मात्रै होइन पीडितलाई न्याय पनि हो । तर जघन्य अपराधका कैदी-बन्दी धेरै हुनु र उनीहरुको मुद्दाको सुनुवाइमा ढिलाइ हुनुले एकातिर नेपालको सामाजिक अवस्थाको जटिलता देखिन्छ भने अर्कातिर निर्दोष पनि लामो समय जेलमै बस्नुपर्ने अवस्था छ ।

हेर्नुहोस् रमेश धमलाका थप स्टोरी


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।