सोलुखुम्बु । जलवायु परिवर्तनको असर पर्न अब कुन ठाउँ बाँकी छ र ? हिमालमा पहिलेजस्तो हिउँ पर्न छाडेको छ । भएको हिउँ पनि पग्निले क्रम उच्च छ । यसको एउटा उदाहारण हो- सर्वोच्च शिखर सगरमाथाको आधार शिविर खुम्बु आइसफल क्षेत्र ।
बढ्दो तापक्रमको असर खुम्बु क्षेत्रमा प्रत्यक्ष देख्न पाइन्छ । खुम्बु हिमनदीमा पहाडका ढिस्का बारम्बार खस्न थालेका छन् भने हिउँ पग्लेर झनै डरलाग्दा खाल्डा र खोला बन्न थालेका छन् ।
समुद्री सतहदेखि पाँच हजार तीन सय ६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविर क्षेत्र केही वर्षअघिसम्म हरियो घाँसले घेरिएको हुन्थ्यो । पर्यटकका लागि सामान बोकेर भरियासँगै पुगेका चौरी, ज्याप्पा र खच्चरहरु आधार यहीँको घाँसमा चर्थे । तर अहिले यहाँ घाँसेमैदान हराएको स्थानीय फुछेतर शेर्पा बताउनुहुन्छ । उहाँका अनुसार यहाँका खाल्डा हिमतालमा परिणत भएका छन् ।
खुम्बु आइसफल क्षेत्रमा गोरक्सेपदेखि आधार शिविरबीचको ठाउँ-ठाउँमा भत्किने र ढुंगा झर्ने समस्या छ । बाटो जोखिमपूर्ण बनेको छ ।
आइसटावरहरू अस्थिर बन्दै गएका कारण ठुल्ठुला फराकिला खाल्डा बनेका छन् । बढ्दो तापक्रमका र तीव्र गतिमा चल्ने हावाका कारण हिउँ पग्लिएर पानीमा परिणत हुँदा सगरमाथा आधार शिविर क्षेत्र नै जोखिममा पर्न थालेको ट्रेकिङ गाइड मिङ्मा शेर्पा बताउनुहुन्छ ।
आइसफल पग्लने क्रम बढ्दा वरिपरिका पहाडी क्षेत्रमा पहिरो र भू-क्षयजस्ता समस्या बढेको छ । पहाडहरुबाट झरेको पहिरो र ढुंगाका कारण पर्यटकमा भय थपिएको छ भने आधार शिविर पुग्न निकै जोखिम हुने गरेको छ । पहिले हिउँददेखि वैशाखसम्मै सेताम्मे हुने हिमालमा अचेल पर्याप्त हिमपात हुन छाडेको आरोहीहरु मिङ्मा डेबिड शेर्पा बताउनुहुन्छ ।
हिउँ पग्लेका कारण हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा बर्सेनि अनपेक्षित परिवर्तन आइरहेको छ । आधार शिविरमा निम्तिँदै गएको जोखिम र संकटबारे सरकारको तर्फबाट हालसम्म न पर्याप्त अध्ययन भएको छ न समस्या समाधानमा ठोस पहल नै ।